सिम्जुङ (गोरखा), १ चैत । औपचारिक शिक्षासँगसँगै यहाँका विद्यार्थी आफ्नो घर, विद्यालय र समुदायस्तरमा सरसफाइ अभियानमा जुट्न थालेका छन् ।
प्रत्येक शनिबार बिहान हातमा कुचो, झाडु लिएर फोहर उठाउँदै त्यसको उचित व्यवस्थापन गर्ने गर्दछन् ।
आफ्ना छोराछोरी नै यसरी टोलटोलमा पुगेर सरसफाइको महत्वका बारेमा जानकारी गराउने र जथाभावी फोहर नफाल्न अनुरोध गरेपछि अभिभावक पनि सहभागी भएका छन् । “सुरुमा त टोलटोलमा गएर सरसफाइका बारेमा अभिभावकलाई जानकारी गराउँदा कुनै सहयोग पाउन सकिएको थिएन तर विस्तारै उहाँहरुमा पनि यससम्बन्धी चेतना अभिवृद्धि भएपछि अहिले निकै सजिलो भएको छ” – वडा नं ८, बाल क्लबका अध्यक्ष अनिल देवकोटा भन्नुहुन्छ ।
केही वर्षअघिसम्म जथाभावी फोहरमैला र दिसापिसाबले बाटो, गल्ली दुर्गन्धित हुने गर्दथ्यो । २०७० मङ्सिर २८ गते यस गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । घर र विद्यालयमा शौचालयको व्यवस्था भएकाले खुल्ला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्य भएको छ । अहिले विद्यार्थीकै पहलमा यो गाउँ जिल्लाकै सफा र स्वच्छ गाउँका रुपमा परिचित भएको समाजसेवी ऋषिराम लामिछाने बताउनुहुन्छ ।
शिक्षा विभाग र युनिसेफको अध्ययनमा नेपालका विद्यार्थीमध्ये ४३ प्रतिशत छात्र र ३१ प्रतिशत छात्राको मात्र शौचालयमा पहुँच रहेको देखिए पनि यहाँ यो अवस्था रहेको देखिँदैन । यहाँका विद्यालयमा शौचालयको उपयुक्त व्यवस्था भएकाले पढ्न जाने उमेरका विद्यार्थी विशेषगरी छात्राको सङ्ख्या उल्लेख्य बढेको सिम्जुङ खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका निर्देशक ईश्वरी भक्री बताउनुहुन्छ ।
एक उच्च माविसहित सात विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत छन् । यस गाविसमा २०७० सालमा सो परियोजना लागू भएपछि नै हप्तामा एक दिन हरेक विद्यालयमा सरसफाइसम्बन्धी अतिरिक्त शिक्षा दिन सुरु गरिएको नेवाकी वरिष्ठ स्वास्थ्य तथा सरसफाइ सहजकर्ता समिष्ठा ढकाल बताउनुहुन्छ । यसमा हात धुने तरिका, पिउने पानीको शुद्धता, छात्राले रजस्वला हुँदा स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी दिने गरिएको उहाँको भनाइ छ ।
विद्यार्थीले हरेक वडास्तरमा बाल क्लब पनि गठन गरी हप्तामा एक सरसफाइ कार्यक्रम गर्ने गर्दछन् । प्रत्येक क्लबमा आठदेखि १६ वर्ष उमेरका १३ जना सदस्य आबद्ध रहेका छन् । दुई वर्षमुनिका बच्चाका आमालाई पनि स्वास्थ्य र सरसफाइ अभियानमा संलग्न गराउन वडास्तरमा स्वस्थ आमा समूह पनि गठन गरिएको छ । परियोजनाबाट प्रशिक्षित स्थानीयवासी चारजना सहजकर्ताले उनीहरुलाई टोल शिक्षा, विद्यालय सरसफाइ शिक्षाको व्यवस्थापन गर्ने गर्दछन् ।
सरसफाइसम्बन्धी जनचेतना नहुँदा विगतमा विभिन्न संस्थाले निर्माण गरिदिएका शौचालय पनि कतिपय घरमा प्रयोगविहीन रहेकामा अहिले राम्रोसँग सञ्चालन भएको हिमालय उच्च माविका प्राचार्य इन्द्रकुमार मिश्र बताउनुहुन्छ । सरसफाइबारे विद्यार्थीहरुको सक्रियताले समुदायमा सकारात्मक परिवर्तन आएको उहाँको ठम्याइ छ ।
नेवाले यस गाविसमा रहेका छ वटा विद्यालयमा शौचालय र खानेपानीमा सहयोग गरेको छ । पोखराटार–ढोडेनी र बालुवा–माउसुली खानेपानी योजना निर्माण गर्नुका साथै सबै विद्यालयमा धारा तथा शौचालय निर्माणमा सहयोग गरेको छ । विद्यालयमा खानेपानीको सुविधा पनि भएकाले विद्यार्थीहरु पानी पिउन पहिलेजस्तो टाढा भौंतारिनुपर्ने वाध्यता छैन ।
गत बैशाख १२ गतेको भूकम्पले यहाँका ९५ प्रतिशत घरहरु ध्वस्त बनाएको थियो भने ४५ घरायसी शौचालय पूर्णरुपमा क्षति भएको छ । केही वर्षअघि निर्माण गरिएको शौचालय पनि गत बैशाखको भूकम्पमा पूर्णरुपमा क्षति भएपछि शौचालयको अभावमा केही समय यहाँँका सबैजसो विद्यालयमा पठनपाठनमा समस्या आएको थियो । अहिले नेवाको पहलमा व्यवस्थित शौचालय निर्माण भएकाले पठनपाठनमा समेत सहजता आएको जीवनज्योति निमाविका प्रधानाध्यापक द्रोणाचार्य दवाडी बताउनुहुन्छ ।
विद्यालयमा पहिले एउटैमात्र शौचालय त्यो पनि साँघुरो हुँदा सबैजना पालो गरेर जानुपर्दा सधैँजसो कक्षा नै छुट्ने गरेको अनुभव सुनाउँदै कक्षा ८ मा अध्ययनरत सुष्मा घले भन्नुहुन्छ – “अझ हामी छात्रालाई त पर सरेको बेला शौचालयमा पानी नहुँदा विद्यालय नै आउन मुस्किल थियो ।” अब व्यवस्थित शौचालय भएपछि पालो कुर्नुपर्ने वा विद्यालय नै आउन असुविधा हुने समस्या नभएको अर्की छात्रा सुनिता गुरुङ भन्नुहुन्छ – “अहिले छात्र र छात्राका लागि अलग्गै शौचालय निर्माण भएको र पानीको व्यवस्था भएकाले विद्यालयमा पढ्ने वातावरण सहज बनेको छ ।”
नेपालमा करिब २९ हजार सामुदायिक विद्यालय छन् । शिक्षा विभागको २०१३ को अध्ययनअनुसार नेपालका ६९ प्रतिशत सामुदायिक विद्यालयमा छात्राका लागि छुट्टै शौचालय रहेको छ भने ८० प्रतिशत विद्यालयमा कम्तीमा एउटा शौचालय रहेको देखाएको भए पनि भूकम्पले प्रभावित जिल्लाका अधिकांश विद्यालयका शौचालय भत्किएका छन् । हाल सामुदायिक विद्यालयका १६६ छात्राले सरदर एक शौचालय प्रयोग गर्ने गरेकामा सन् २०१७ सम्म हरेक ५० छात्रामा एक शौचालयको अवधारणा ल्याइएको छ । रासस
No comments:
Post a Comment