काठमाडौँ, २२ फागुन । बागमती सरसफाइ महाअभियानले पशुपतिनाथ मन्दिरको रामघाट तथा त्यस वरपर क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ ।
महाअभियानले शिवरात्रीको अवसरमा आज त्यस क्षेत्रको नदी तथा त्यस आसपास क्षेत्रको सफाइ गरी फोहर निकालेको हो । यसवर्षको शिवरात्री यही फागुन २४ गते परेको छ ।
बागमती नदीमा विभिन्न किसिमका फोहर तथा रसायन मिसिएर प्रदुर्षण बढ्न थालेपछि विसं २०७० जेठबाट सो महाअभियान सुरु गरिएको थियो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार काठमाडौँ उपत्यकाका बागमतीलगायतका अन्य सहायक नदीसमेत सफा गरिँदै आएको छ ।
महाअभियानको आज १४७ औँ शृङ्खला हो । उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मानव सभ्यताको उद्गमस्थल बागमती नदीलाई सबैको सहयोगबाट सफा गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा सेना, सशस्त्र प्रहरी, प्रहरी, कलाकार तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागिता थियो । रासस
No comments:
Post a Comment