Wednesday, March 2, 2016

‘पार्टी नेतामुखी हैन नीतिमुखी होस्’

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा आफ्नो कार्यकालको प्रस्ट नीति तथा कार्यक्रम ल्याउन सक्ने सक्षम नेतालाई पार्टीको जिम्मेवारी सुम्पनुपर्नेमा युवा नेताले जोड दिएका छन् ।

सो पार्टीको भ्रातृ संस्था युवा अभियानले आज यहाँ आयोजना गरेको नीति, कार्यक्रम तथा नेतृत्व विषयको प्रतिज्ञासभामा सहभागी वक्ताले पार्टीलाई नेतामुखी होइन नीतिमुखी बनाउनुपर्नेमा जोड दिए ।

नेता डा प्रकाशशरण महतले लोकतन्त्रका लागि काँग्रेसले सङ्घर्ष गर्दै आए पनि यसलाई संस्थागत गर्न कठिनाइ भएको, भविष्यको अनिश्चियले गर्दा युवा वर्ग पलायन भएको, विकासका गतिविधि अघि बढ्न नसकेको अवस्थामा सबल नेतृत्वको खाँचो भएको बताउनुभयो ।

नेता बालकृष्ण खाँडले मुलुकलाई शान्त तथा समृद्ध बनाउन, पार्टीभित्रका कमीकमजोरी हटाउन, व्यवस्थापन पक्ष सुदृढ बनाउन, सबै जातजाति तथा भषाभाषीको जायज माग सम्बोधन गर्न र संविधान कार्यान्वयन गर्न १३ औँ महाधिवेशनले सबल नेतृत्वको माग गरेको बताउनुभयो ।

अर्का नेता नवीन्द्रराज जोशीले पार्टीलाई जीवन्त बनाउन, लोकतन्त्रवादी पार्टीको रुपमा उभ्याउन र राष्ट्रलाई अग्रगामी दिशामा लैजान सक्षम नेतृत्वको आवश्यकता भएको बताउनुभयो ।

नेता प्रदीप पौडेलले केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा आइपुग्दासम्म पनि कुनै पनि नेताले आ–आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत नगरी मात्र निर्वाचनमा केन्द्रित भएको आरोप लगाउनुभयो ।

गुरुराज घिमिरे, बिजुला बर्मा, महेश थपलिया, प्रतिमा गौतमलगायतका नेताले गुट–उपगुटभन्दा पनि निष्ठाको राजनीति गर्ने सबल र सक्षम नेतृत्वको खाँचो भएको चर्चा गर्दै पार्टीको नेतृत्वदायी भूमिकामा युवापुस्तालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts