Wednesday, March 23, 2016

हिन्दू–मुस्लिमको एउटै होली

रुपन्देही, १० चैत । वसन्त ऋतुको आगमन र नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने रङको पर्व होली तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइको छ ।

रङको बहारले तराईका जिल्ला बिहानैदेखि नै रङ्गिन थालेका छन् । हरेक वर्ष फागुपूर्णिमामा मनाइने होलीले रुपन्देहीसहित तराईका २२ जिल्लामा बिहानैदेखि हरेक उमेर समूहका युवायुवती, महिला, पुरुष, वृद्धवृद्धा तथा बालबालिका होली धुमधामका साथ मनाइरहेका छन् । होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको छ ।

होली पर्वको रौनक रुपन्देहीमा पनि निकै बढेको छ । रुपन्देही सदरमुकाम भैरहवामा हिन्दू तथा मुस्लिम समुदायबीच एकआपसमा होली खेलेका छन् । आन्दोलनरत मधेसी दलले यस वर्ष तराईमा होली नखेल्न आग्रह गरेपनि जनस्तरमा होली मनाइएको छ ।

भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको सामाजिक सद्भाव तथा एकताका लागि गरिएको होली मिलन कार्यक्रमको सुभारम्भ गर्दै मुस्लिम समुदायका सांसद इश्तियाक अहमद खाँनले भैरहवाबाट विश्वका लागि राष्ट्रिय एकताको सन्देश जानुपर्ने बताउनुभयो ।

“म एउटा मुस्लिमको छोरोलाई अतिथि बनाएर होली मलिन कार्यक्रम गराउनुभयो यो निकै सराहनीय छ”– खाँनले भन्नुभयो– हामी सम्पूर्ण जाति एक भएर राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको विषयमा लाग्नु पर्छ ।”

“संविधान जारी हुनुपूर्वदेखि भन्डै छ महिनासम्म विभिन्न बहानामा भएको आन्दोलनका कारण सामाजिक सद्भावमा खलल पुग्न गएको भए पनि आजदेखि हामी सबै जातजाति र भाषाभाषी एकै ठाउँमा उभिएका छौँ”– उहाँले भन्नुभयो । यसको उदाहरण हामीले भैरहवा क्षेत्रबाट दिएका छौँ ।

यसका साथै भैरहवामा विभिन्न सङ्घसंस्थाले ठाउँठाउँमा होली मिलन कार्यक्रमको आयोजना गरी होली पर्व मनाइरहेका छन् भने हरेकजसो घरपरिवारमा रङ तथा अबिर एकआपसमा लगाएर खुसी साटासाट गरिरहेका छन् ।

होलीका अवसर पारेर जेसिआइ सिद्धार्थ नेपालले भैरहवामा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुपूर्णिमाका दिन मनाइने यो पर्व एकअर्कामाथि विभिन्न प्रकारका रङ लगाइदिएर मनाइन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts