इनरुवा, ३० फागुन । जिल्ला विकास समिति सुनसरीले आगामी आर्थिक वर्षका लागि रु पाँच अर्ब १५ करोड बढी रकम प्रस्ताव गरेको छ ।
सुनसरी जिविसले २५औँ जिल्ला परिषद्बाट पारित गरेको आव २०७३÷०७४ को वार्षिक जिल्ला विकास योजना सार्वजनिक गर्न आज आयोजित नीति बजेट तथा सार्वजनिकीकरण कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले आव २०७३÷०७४ का लागि पाँच अर्ब १५ करोड १५ लाखको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
जिल्लामा शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार, खानेपानी सरसफाइलगायतका शीर्षकमा खर्च हुने गरी आफ्ना नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको जिविसका सूचना अधिकृत अरुणकुमार मेहताले जानकारी दिनुभयो ।
शाक्य र बुढाथोकी सम्मानित
यसैबीच, एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा २३ वर्षपछि स्वर्ण पदक दिलाउन सफल नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकीलाई जिविस कार्यालय सुनसरीले नगदसहित सम्मानित गरेको छ ।
जिविसले आज आयोजना गरेको सार्वजनिकीकरण समारोहमा प्रशिक्षक शाक्य र खेलाडी बुढाथोकीलाई सम्मानित गरेको हो । दक्षिण एसियाली फुटबलमा नेपाललाई सफलताको शिखरमा पु¥याएर सुनसरीको गौरव बढाएको भन्दै सुनसरीका प्रशिक्षक र खेलाडी दुवैलाई सम्मान गरेको जिविस सुनसरीले जनाएको छ ।
खेलाडी बुढाथोकीलाई नगद रु १५ हजारसहित सम्मानपत्रले सम्मानित गरेको छ भने प्रशिक्षक शाक्यलाई सम्मानपत्रसहित सम्मानित गरिएको आयोजकले जनाएको छ ।
प्रशिक्षक र खेलाडी कार्यक्रममा आउन नसकेपछि उहाँको सम्मान सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको थियो भने विभिन्न क्षेत्रका व्यक्तिलाई पनि सम्मानित गरिएको थियो । रासस
No comments:
Post a Comment