ताप्लेजुङ, ३० फागुन । ताप्लेजुङ नगरपालिका–८ मा रहेको दोखुस्थित सरकारी वनक्षेत्रमा शनिबार साँझदेखि लागेको डढेलो नियन्त्रणमा आएको छ ।
डढेलो सुरु हुनासाथ शनिबार राति अबेरसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा आगलागीबाट बस्ती जोगिए पनि आगलागी भएको वन क्षेत्रमा भने आज दिउँसोसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको थिएन ।
आज दिउँसो मात्रै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । आगलागीबाट करिब १५० हेक्टर क्षेत्रफलको वन नष्ट भएको जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगलागीबाट ठूल्ठूला रुख पूर्णरुपमा नष्ट नभए पनि सो क्षेत्रभित्रका स–साना साल, सल्ला, उतिस, चिलाउने जातका बहुमूल्य बोटबिरुवा भने पूर्णरुपमा जलेर नष्ट भएका छन् । जिल्ला वन कार्यालयका इलाका प्रमुख जीवन यादवका अनुसार आगलागी ठूलो क्षेत्रमा फैलिएका कारण ठूलो मात्रामा वन नष्ट भएको छ ।
यसअघि गत २०६८ सालदेखि पटक–पटक सो क्षेत्रलगायत आसपासका ठाउँमा आगलागी हुँदै आए पनि आगलागी कसरी हुन्छ भन्ने यकिन नभएको जिल्ला वन कार्यालयले बताएको छ । यसपटक भएको डढेलो कोद्वारा भएको हो भन्ने विषयमा अहिले खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।
आगलागी क्षेत्र सदरमुकामदेखि करिब आठ किमी सडकको दूरीमा रहेको छ । यस क्षेत्रमा पटक–पटक आगलागी हुने गरेको भए पनि आगो लगाउनेलाई स्थानीय र प्रशासनले अझै पहिचान गरी कारबाही गर्न सकेको छैन ।
यसअघि २०६८ साल चैतमा जङ्गलबाट सल्किएको आगो नजिकै रहेको घरमा सल्कँदा आगोमा परी स्थानीय धनभक्त मगर र उनकी श्रीमती बुद्धिमाया मगरको ज्यान गएको थियो । रासस
No comments:
Post a Comment