Sunday, March 13, 2016

सहिद रत्न वान्तवा देशकै सम्पत्ति : पूर्वसभामुख नेम्वाङ

इलाम, ३० फागुन । नेकपा (एमाले) का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले सहिद रत्नकुमार वान्तवा अब कुनै पार्टीको मात्र नभई सिङ्गो मुलुककै साझा व्यक्तित्व भएको बताउनुभएको छ ।

आज सहिद रन्तकुमार वान्तवाको जन्मस्थल इलामको चमैता–७ चित्रेस्थित घरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता नेम्वाङले सहिद अब देशकै सम्पत्ति भएकाले उहाँको घर, उहाँले निर्माण गर्नुभएको सुरुङ देशकै साझा सम्पत्ति हुन् र यिनको संरक्षण हामी सबैको दायित्व हो भन्नुभयो ।

नेकपा (एमाले) मेची अञ्चल समन्वय समितिले सञ्चालन गरेको ‘मेची पर्यटन प्रवद्र्धन अभियान’का अभियन्तालाई रत्नका बारेमा जानकारी गराउँदै नेता नेम्वाङले रत्न पार्टीका एक होनहार र असल व्यक्तित्व भएकाले उहाँको अभाव अझै पनि खड्किरहेको बताउनुभयो ।

अभियानले मेचीका पर्यटकीय स्थलको चर्चा, विकास र प्रवद्र्धनमा नयाँ आयाम थप्ने नेम्वाङको भनाइ छ ।

सोही अवसरमा उहाँले सहिद रत्न–बम स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘रत्न–बम स्मृति ग्रन्थ’ को विमोचनसमेत गर्नुभयो । उहाँले राष्ट्रका सहिदको सम्मान पाएका रत्न वान्तवाले निर्माण गरेको सुरूङ र उक्त क्षेत्रलाई राज्यले संरक्षण गर्दै सङ्ग्राहलयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहिद वान्तवाका भाई बालकुमार वान्तवाले रत्न–बम प्रतिष्ठानलाई रु दुई लाख मूल्य बराबरको दुई रोपनी जग्गा र रत्न सुरुङ र घर निःशुल्क प्रदान गर्नुभएको छ । सोही अवसरमा उहाँलाई सम्मानपत्र प्रदान गरिएको छ । ७५ वटै जिल्लाका एमाले जिल्ला अध्यक्ष, मेचीका एमाले आबद्ध सांसद, पोलिटब्युरो सदस्य, केन्द्रीय र अञ्चल कमिटीका पदाधिकारी अभियानमा सहभागी छन् । एमाले मेची इन्चार्ज हिक्मत कार्कीको नेतृत्वमा रहेको टोलीमा करिब १५० जना सहभागी रहेको एमाले इलामले जनाएको छ ।

टोलीले कम्युनिस्ट आन्दोलनका ऐतिहासिक स्थल ‘झापा विद्रोह’ का सहिदले सहादत प्राप्त गरेको इलामको सुखानी, रत्नकुमार वान्तवाको समाधीस्थल सिंहबाहिनी, उनको जन्मस्थल चमैताको चित्रे, त्यहाँ रहेको रत्न सुरुङ तथा मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुङ्गेसाँघुको भ्रमण गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव महेश बस्नेतले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts