काठमाडौँ, ४ चैत । नेकपा(क्रान्तिकारी माओवादी)ले सर्वोच्च अदालतले युद्धकालीन मुद्दा उल्ट्याएको भन्दै विरोध जनाएको छ ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आज एक विज्ञप्ति जारी गरी हालै सर्वोच्चले ओखलढुङ्गाको जनयुद्धकालीन मुद्दामा गरेको आदेश र सर्वोच्चमा संवैधानिक इजलास खडा गरी राजनीतिक मुद्दा फिर्ता लिन नमिल्ने भनी गरिएको आदेशका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
सर्वोच्चको फैसलाबाट विगतमा राजनीतिक दलबीच भएका सहमति र सम्झौताका साथै राज्य पक्षसँग गरिएका सम्झौताको समेत गम्भीर उल्लङ्घन हुन गएको उल्लेख गर्दै अध्यक्ष वैद्यले राज्यको महत्वपूर्ण अङ्गका रूपमा रहेको न्यायालयबाट विगतका सम्झौता उल्लङ्घन गरिनु गलत भएको टिप्पणी गर्नुभएको हो ।
अदालतले राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गर्दै उहाँले विगतमा गरिएका सम्झौता उल्लङ्घन गरिए त्यसबाट निम्तने परिणाम भने झन् गम्भीर हुने बताउनुभएको छ । रासस
No comments:
Post a Comment