बाबियाचौर (म्याग्दी), १ चैत । जिल्ला विकास समितिले निजी क्षेत्रको साझेदारीमा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको छ ।
जलविद्युत्को प्रशस्त सम्भावना भए पनि आयोजना निर्माण हुन नसकेको तथा सुरु भएका आयोजना पनि सुस्त र विवादमा अल्झिएको अवस्थामा जिविसले निजी क्षेत्र र लगानीकर्तालाई आकर्षित तथा सर्वसाधारणलाई विश्वास दिलाउन यस्तो योजना अघि सारेको हो ।
हालै सम्पन्न २४औँ जिल्ला परिषद्ले जिविस र निजी क्षेत्रको साझेदारीमा जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । जिल्लामा जलविद्युत्को प्रबल सम्भावना रहेको र विद्युत्को विकास हुन सकेमा मात्र जिल्लाको विकासले गति लिने हुँदा जलविद्युत्मा लगानी आकर्षित गर्न नीतिगत व्यवस्था गरिएको उहाँको भनाइ छ ।
जिल्ला परिषद्को निर्णयले जलविद्युत् आयोजनामा जिविस, नगरपालिका र गाविसको लगानीका लागि नीतिगत तथा कानुनी बाटो खुलेको छ । सरकारी निकायको पनि लगानी हुने भएपछि निजी क्षेत्र र लगानीकर्ता जिल्लाका जलविद्युत् आयोजनामा लगानी गर्न आकर्षित हुने अपेक्षा गरिएको छ । यसैगरी सर्वसाधारणले पनि जलविद्युत् आयोजनामा ढुक्क भएर लगानी गर्न सक्ने सन्देश प्रवाह हुने पौडेल बताउनुहुन्छ ।
दुई हजार मेगावाट जलविद्युत् आयोजना निर्माणको सम्भावना भएको जिल्लामा आयोजना निर्माणका लागि थुप्रै कम्पनीले अनुमति लिएर सर्वेक्षण गरे पनि निर्माण कार्य सुरु गरेका छैनन् । सडक, उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने सबस्टेसन नहुनु, स्थानीयवासीको अवरोध, असमझदारी लगायतका कारणले जलविद्युत् विकासले गति लिनसकेको छैन ।
जिल्लाभित्र सञ्चालन हुने आयोजना र स्थानीय जनतालगायत सरोकारवालाबीच असमझदारी सिर्जना भएमा सबै पक्षसँग समन्वय गरी सहज वातावरण बनाउने जिविसले जनाएको छ । रासस
No comments:
Post a Comment