काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ठोस कुराकानी गर्न सांसदले सुझाव दिनुभएको छ ।
लगानी बोर्ड र चिनियाँ लगानीकर्ता थ्री गर्जेजको सहायक कम्पनीबीच आयोजना अगाडि बढाउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भए पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा आयोजना अगाडि बढाउने विषयमा प्रभावकारी सहमति र लगानीका लागि चिनियाँ पक्षलाई सहमत गराउनुपर्नेमा सांसदहरुको जोड छ ।
सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको भए पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसक्दा स्थानीयवासी मानसिक पीडामा रहेका छन् । स्थानीयवासी आयोजना तत्काल अगाडि बढाउने विषयमा प्रस्ट निर्णयको प्रतीक्षामा छन् । तर सधैँ चर्चा र परिचर्चाको केन्द्रमा आयोजना रहने गरे पनि निर्माण प्रक्रिया सुरु हुन नसक्दा अन्योलता बढ्दै गएको छ ।
सन् १९९६ देखि वातावरणीय प्रभाव मूल्याङ्कनबाट सुरु भएको सो आयोजना हालसम्म पनि अगाडि नबढेकामा सांसदले चिन्ता व्यक्त गर्दै यसपटक भने अगाडि बढाउने वा नबढाउने भन्नेमा टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
रासससँग कुरा गर्दै डोटीका सांसद वीरबहादुर बलायरले लामो समयदेखि आश गरेर बसेका स्थानीयवासीलाई विश्वासमा लिएर तत्काल आयोजना अगाडि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘‘आयोजनाका कारण स्थानीय विकास निर्माणका काम अगाडि बढ्न सकेका छैनन् । जनता अन्धकारमा बस्न बाध्य छन् । विकास निर्माण रोकिएको छ । आयोजना बनाउने हो भने बनाउने भन्नुप¥यो, होइन भने चर्चा गर्न पनि बन्द गर्नुप¥यो”, उहाँले भन्नुभयो ।
गरिबीको रेखामुनि रहेका जनताको आर्थिक स्तर उकास्न पनि सो आयोजना अगाडि बढाउनुपर्ने र लगानी बोर्ड तथा चिनियाँ पक्षसँग प्रधानमन्त्रीले स्पष्ट कुरा गर्न सुझाव दिनुहुन्छ सांसद बलायर ।
यस्तै अर्का सांसद् ओफिलाल ओखेडा पश्चिम सेती अविलम्ब कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिँदै यसपटक प्रधानमन्त्रीले स्पष्ट कुरा गर्नुपर्नेमा जोड दिनुहुन्छ । हाल स्थानीयस्तरमा पहुँच मार्ग निर्माण र आवासका लागि भवनसमेत निर्माण सुरु भइसकेको सन्दर्भमा लगानी बोर्डसँग भइरहेको छलफलाई टुङ्गो लगाउन, आवश्यक निर्णय गरिदिन नेपाल विद्युत् प्राधिकरण र सम्बद्ध पक्षसँग आफूहरु निरन्तर छलफलमा रहेको उल्लेख गर्दै उहाँले आयोजना जुनसुकै हालतमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै आयोजना प्रभावित क्षेत्र डोटीका सांसद प्रेमबहादुर आले प्रधानमन्त्री ओलीले चिनियाँ पक्षलाई पश्चिम सेती सहज आयोजना हो, निर्माण सुरु गर्नुस् भनेर विश्वास दिलाउनुपर्नेमा जोड दिनुहुन्छ । “सधैँ प्रचार गरेर मात्र हुन्न, आयोजना अगाडि बढ्नुपर्छ । त्यसमा आवश्यक सहयोग गर्न स्थानीयवासी तयार छन्”, आलेले भन्नुभयो ।
सन् २०१३ को डिसेम्बरमा बोर्ड र थ्री गर्जेजको सहायक कम्पनीबीच आयोजना अगाडि बढाउने विषयमा पत्राचार भए पनि थप प्रगति हुन सकेको छैन । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले गत कात्तिक २ गते सो आयोजना तत्काल अगाडि बढाउन बोर्ड, नेपाल सरकारलाई निर्देशन दिएको थियो ।
समग्र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको भविष्यसँग गाँसिएको पश्चिम सेती जलविद्युत् आयोजना सम्पन्न गर्न करिब रु एक खर्ब २० अर्ब लाग्ने बताइएको छ । चिनियाँ पक्षले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको पुनः स्थापना, प्रसारण लाइन, विद्युत्को बजारलगायतका विषयमा बोर्डसँग चासो राख्दै आएको बताइएको छ ।
डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्ला हुँदै बग्ने सेती नदीमा पहिलोपटक झन्डै ३४ वर्ष पहिले फ्रान्सेली कम्पनीले सो आयोजनाको अध्ययन गरेको थियो । अध्ययनका आधारमा सन् १९८७ मा जलाशययुक्त आयोजनाको पहिचान गरिएको थियो । अस्ट्रेलियाको स्मेक हाइड्रोले आयोजनास्थलको वातावरणीय, सामाजिक र भौतिक अवस्थाको प्रभाव मूल्याङ्कन गरे पनि लगानी जुटाउन नसकेपछि बाहिरिएको थियो ।
स्मेक बाहिरिएपछि सरकारले सो आयोजना चिनियाँ कम्पनीलाई दिएको हो । तर आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणका विषयमा सरकारको प्रस्ट धारणा आउन नसक्दा थप जटिलता पैदा भएको छ । आयोजना प्रभावित क्षेत्र सडक सुविधाबाट टाढा भए पनि प्राकृतिक सम्पदाले भने सम्पन्न रहेको छ ।
आयोजना बन्नुपूर्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावितको पुनर्वास गराएर मात्रै काम सुरु गर्नुपर्ने स्थानीयवासीको माग छ । आयोजना अगाडि बढ्छ भन्दाभन्दै बझाङ, बैतडी, डोटी र डडेल्धुराका डुबान÷प्रभावित १२ वटा गाविसमा स्थानीय निकाय, सरकार र गैरसरकारी संस्थाले विकास निर्माणका काम अगाडि बढाएका छैनन् ।
पछिल्लो पटक गत माघ ११ गते प्रधानमन्त्री ओलीले पश्चिम सेती आयोजना अगाडि बढ्न नसकेको सन्दर्भमा चासो व्यक्त गर्नुभएको थियो । आयोजना विकास सम्झौता (पिडिए)को तयारी भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
थ्री गर्जेज, ऊर्जा मन्त्रालय र बोर्डबीच पटकपटक पिडिएका सम्बन्धमा छलफल भए पनि अन्तिम निष्कर्ष निस्केको छैन । चिनियाँ पक्षले विद्युत् व्यापारको सुनिश्चितता, प्रसारण लाइन, आयोजना प्रभावितको पुनर्र्वास, पुनः स्थापना विषयमा चासो राखेको र प्रधानमन्त्रीको भ्रमणको क्रममा केही न केही सहमति हुने विश्वास लिइएको छ ।
लगानी बोर्डको गत माघ ११ गतेको बैठकले सो परियोजनाको विकासमा ढिलाइ हुनुको कारण खोज्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिँदै पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनसमेत आग्रह गरेको थियो । रासस
No comments:
Post a Comment