Tuesday, March 8, 2016

खोटो सङ्कलन वन उपभोक्ताको अतिरिक्त आयको माध्यम

बनेपा, २५ फागुन । काभ्रेपलाञ्चोकमा सामुदायिक वन उपभोक्ता समूहको खोटो सङ्कलन कार्य वन उपभोक्ताको अतिरिक्त आम्दानीको दरिलो स्रोत बन्न थालेको छ ।

सामुदायिक वन उपभोक्ता समूहको अतिरिक्त आम्दानी वन समूहका सदस्यको आयआर्जनको भरपर्दो माध्यम भएको छ । खास गरी उत्पीडित, पिछडिएको समुदाय र जनजाति समुदायका व्यक्तिले बाख्रापालन, तरकारीखेतीलगायतका काम गरेर लाभ उठाएका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ सल्लेरीगैराकी पार्वती तामाङले बाख्रापालनबाट नै आफू्ले आयआर्जन गरेको बताउनुभयो ।

“मैले बाख्रापालन गरेर नै घरको सबै खर्च चलाएकी छु,” उहाँले भन्नुभयो । समूहमा हस्तान्तरण गर्ने प्रावधानअनुसार करिब दुई वर्षपछि उहाँले पनि अर्को समूहलाई बाख्रा हस्तान्तरण गर्नुभयो । सामुदायिक वन गरिबका लागि वरदान सावित भएको उहाँको भनाइ छ ।

रातामाटे सामुदायिक वन उपभोक्ता समूहले पाँचखालको मयलपानी, सल्लेरीगैरा, रविगााउँ, ¥याले, छत्तिसकिलो, देउतास्थानलगायतका क्षेत्रमा बाख्रापालनका लागि लगानी गरेको छ ।

“हामीले खोटो सङ्कलन गरेर वार्षिक झन्डै रु एक लाख ५० हजार आम्दानी गरेका छौँ र आम्दानी गरेका रकम लघुउद्यममा लगानी गरेका छौँ,” पाँचखाल नगरपालिकाको रातामाटे उपभोक्ता समूहका सचिव राजेन्द्र सापकोटाले भन्नुभयो ।

सामुदायिक वनबाट हुने यस्ता आम्दानीले वन उपभोक्ता समूहका सदस्यलाई सस्तो ब्याज दरमा ऋण लिन भरोसा मिल्छ । उनीहरुबाट बाख्रापालन, तरकारीखेती जस्ता आयमूलक काम हँुदा सामुदायिक वनमा वास्तविक सुशासन कायम भएको छ ।

सापकोटाका अनुसार पिछडिएको समुदायलाई नै लक्ष्यित गरेर वन समूहका सदस्यमाझ लगानी भएको छ । अहिले पुनः अन्य समूहका लागि बाख्रापालन गर्न दिन निवेदन आएको उहाँले बताउनुभयो ।

सो वन उपभोक्ता समूहले न्यूनतम रु पाँच हजारदेखि रु १५ हजारसम्म बाख्रापालनमा लगानी गर्दै आएको छ । सचिव सापकोटाले भन्नुभयो – “हामीले प्राविधिक ज्ञान हासिल गरेर नै खोटो सङ्कलनको काम गरेका हाँै तर खोटो सङ्कलनमा केही कमजोरी भएका छन् । त्यसलाई सच्याउन हामी तयार छौँ ।”

विसं २०५९ देखि आफ्नो समूहले खोटो सङ्कलन गरेदेखि कुनै रुखमा पनि हानी नोक्सानी नभएको रातमाटे वन उपभोक्ता समूहको दाबी छ । कतिपय तीन इन्च गोलाइ नभएका रुखबाट पनि खोटो सङ्कलन गरिएको भेटियो । अहिले त्यस्ता प्रवृत्तिमाथि कडाइका साथ नियन्त्रण गर्न त्यस्ता काम गर्नेलाई वन प्रवेशमै रोक लगाइएको छ ।

आयआर्जनसँगै भौतिक संरचना निर्माणमा समेत योगदान पु¥याएको सामुदायिक वनमा अहिले बाँस रोपण, अम्रिसो रोपणका काम समेत भइरहेका छन् ।

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनाल टरपेनटाइन तेलका लागि खोटो सङ्कलन प्रभावकारी भएको बताउनुहुन्छ । सङ्कलित खोटो नेपालबाट भारतसमेत निर्यात भएका छन् । सामुदायिक वन उपभोक्ताका लागि यो आयआर्जनको स्रोत बनेको छ । टरपेनटाइन उद्योगका लागि कच्चा पदार्थसमेत उत्पादन हुँदा उद्योग प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।

मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटाँैडाका उपसचिव घनश्याम ढकालले खोटो सङ्कलनमा हुनसक्ने सम्भावित कमजोरीबारे अनुगमन हुने गरेको बताउनुहुन्छ । काभ्रेपलाञ्चोकमा सानातिनाबाहेक गम्भीर त्रुटि नभएको उहाँको भनाइ छ । निर्देशनालयले बर्सेनि खोटो सङ्कलन हुने वनमा लापर्बाही भएको छ वा छैन भन्ने विषयमा नियमित अनुगमन गर्दै आएको छ ।

विगतको अनुगमनमा काभ्रेपलाञ्चोकको सामुदायिक वनमा गोलाइअनुसारका सल्लाका रुखबाट खोटो सङ्कलन नगरिएको त्रुटि भेटिएको थियो । ढकालका अनुसार सामुदायिक वनका उपभोक्तामा चेतनाको विकासका साथसाथै वन कार्यालयको प्राविधिक सहयोग जरुरी हुन्छ । टरपेनटाइन कम्पनीको नाफा कमाउने मात्रै उद्देश्य रहे त्यसले नकारात्मक वातावरणीय परिणाम निम्तिन्छ ।

पहाडी क्षेत्रको काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप, भक्तपुर, धादिङलगायतका जिल्लामा सामुदायिक वन उपभोक्ता समूहहरुले खोटो सङ्कलन गरेर मनग्य आम्दानी गरिरहेका छन् । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत कृष्णबहादुर थापाको अनुसार जिल्लाको नौ वटा सामुदायिक वन उपभोक्ता समूहले खोटो सङ्कलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रक्रिया अघि बढाएका छन् ।

नयाँ प्रारम्भिक वातावरणीय परीक्षणका लागि जिल्लामा सम्भावित ६० वन उपभोक्ता समूह छन् । वातावरणीय परीक्षण गर्दा एकातिर वन उपभोक्ता समूहले सकारात्मक वा नकारात्मक वातावरणीय प्रभावका बारेमा जानकारी पाउँछन् भने अर्कातिर सरकारले १३ प्रतिशत भ्याटसहित राजस्वसमेत प्राप्त गर्ने गर्छ ।

हिमाली टरपेनटाइन कम्पनीका रोहितकुमार ढकालले आव २०७२÷७३ मा रातामाटे वन उपभोक्ता समूहबाट मात्रै १८ हजार केजी खोटो सङ्कलन भएको र प्रतिकेजी रु नौ का दरले खरिद भएको जानकारी दिनुभयो । उहाँले अन्य तीन वटा सामुदायिक वन उपभोक्ता समूहसँग समेत खोटो सङ्कलनका लागि सम्झौता भएको जानकारी दिनुभयो । जिल्लामा विगत केही वर्षदेखि नै सामुदायिक वन उपभोक्ता समूहले खोटो सल्लाको रुखबाट खोटो सङ्कलन गर्दै आएका छन् ।

जिल्ला वन कार्यालय धुलिखेलको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा आव २०७१÷७२ मा कुल २२ हजार ३३८ केजी खोटो हिमाली टरपेनटाइन कम्पनी सुनसरीले खरिद गरेको देखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts