नुवाकोट, २९ फागुन । संयुक्त राष्ट्र सङ्घका सहायक महासचिव तथा (युएनडिपी)का एसिया प्रशान्त क्षेत्रका निर्देशक हावलीयाङ सुले आज नुवाकोटको थानसिङ्गमा तरकारी कृषिउपज सङ्कलन केन्द्र तथा बजार केन्द्रको उद्घाटन गर्नुभएको छ ।
बितलबदवी तरकारी तथा कृषि उपज सङ्कलन, बजार केन्द्र रु १५ लाखको लगानीमा (युएनडिपी)ले निर्माण गराएको हो । बजार केन्द्रको उद्घाटन गर्दै संयुक्त राष्ट्र सङ्घका सहायक महासचिव तथा युएनडिपीका एसिया प्रशान्त क्षेत्रका निर्देशक हावलीयाङ सुले आफूहरु भूकम्पपछि समस्यामा रहेका नेपाली नागरिकको सहयोगका लागि काम गर्दै आएको र कृषकका लागि सघाउन लालायित रहेको बताउनुभएको छ ।
उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि आफूहरुले नेपाल सरकार र नेपालीलाई सघाउन पाएकामा खुसी लागेको बताउनुभएको छ । पुनःनिर्माणको चरणअन्तर्गत अहिले आफूहरुले भग्नावशेष हटाउने काम थालेको बताउनुभएको छ ।
नुवाकोटको थानसिङ्ग गाविसमा निर्माण भएको तरकारी सङ्कलन केन्द्र तथा बजार केन्द्रले छिमेकी सात गाविसका किसानलाई फाइदा पुग्ने कृषकहरुले बताएका छन् ।
बितलबदवी कृषि सहकारी सङ्घ लिमिटेडका अध्यक्ष जगदीश पाठकका अनुसार थानसिङ्ग, सूर्यमती, चौघडा, सुनखानी, कविलास, भद्रुटार र थानापती गाविसका तरकारीखेतीले बजार केन्द्रमा स्थान पाउने छन् ।
नुवाकोटका मूला बजारसहित दैनिक रुपमा कृषि सङ्कलन केन्द्रले किसानसँग खरिद गरेको तरकारी काठमाडाँैं पठाउने भएको छ ।
सात गाविसको ४४ हेक्टरमा उत्पादन हुने तरकारीलाई बितलबदवी तरकारी तथा कृषि उपज सङ्कलन, बजार केन्द्रले सङ्कलन गरी बजारिकरण गर्ने भएको छ ।
त्यसमा प्रत्यक्ष रुपमा छ हजार ८२ घरधुरी किसानको उत्पादन रहने बताइएको छ । त्यसका लागि सात गाविसका ४८ वटा विभिन्न सहकारी संस्थाले सहजीकरण गरिरहेको पाण्डेले बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिरकणका कार्यकारी सदस्य ध्रुव शर्मा, जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख कमलमणि गैरे, डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख शङ्करराज पाठक, जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटका अध्यक्ष वैकुण्ठ मिश्रले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा किसानले मौसमी तथा बेमौसमी तरकारीको उत्कृष्ठ उत्पादनलाई प्रदर्शनी समेत गरेको थियो । प्रदर्शनीमा सहभागी भएको ६ समूहका ११ जना किसानलाई जिल्ला कृषि विकास कार्यालय नुवाकोटले उत्कृष्ठ कृषकको सम्मानसहित पुरस्कार समेत प्रदान गरेको छ । रासस
No comments:
Post a Comment