भक्तपुर, ६ चैत । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँगे्रस नौबुँदे सिद्घान्तमा एक ढिक्का भएर राष्ट्रको निकास र विकासमा लाग्ने बताउनुभएको छ ।
आज नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरको नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा नेता निधिले राजनीतिक दलबीच देखिएका असहमतिमा सहमति जुटाउने जिम्मेवारी काँगे्रसको काँधमा आएको बताउनुभयो ।
उहाँले १३औँ महाधिवेशनबाट चयन भएको उत्कृष्ट नयाँ नेतृत्वको काँगे्रसले संविधान कार्यान्वयन, मधेसका माग र मुलुुकमा देखिएको प्रदेशको सीमाङ्कन विवाद र मधेस समाधानको जिम्मेवारीपूर्वक समाधान गर्ने बताउनुभयो ।
कार्यक्रममा काँगे्रस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मुलुकको समस्या समाधानका लागि काँगे्रसले राष्ट्रिय सहमति जुटाएर देशमा रहेको गतिरोधलाई निकास दिने दाबी गर्नुभयो ।
उहाँले यो सरकारले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउँदै सबै मिलेर काँगे्रसको नेतृत्वमा मुलुकको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरका नवनिर्वाचित अध्यक्ष दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा, पूर्वसांसद् लेखनाथ न्यौपाने निवर्तमान सभापति गणेशमान चक्रधर, नेता अष्ट कबेलगायतले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले संविधानको कार्यान्वयनमा पनि नेतृत्वादायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment