बागलुङ, २९ फागुन । गत वैशाख १२ गतेको भूकम्पबाट प्रभावित बनेका जिल्लाका ११ घरपरिवारलाई राहत रकम वितरण गरिएको छ ।
बागलुङ नगरपालिका–१० कुँडुले घर भई हाल अमेरिका बस्नु हुने प्रेम केसीको पहलमा सङ्कलन भएको राहत प्रभावित परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो ।
क्षेत्री समाज बागलुङले शनिबार आयोजना गरेको एक कार्यक्रमबीच केसीले राहत रकम प्रदान गर्नुभयो ।
प्रतिपरिवार रु १० हजारका दरले कुल रु एक लाख १० हजार वितरण गरिएको हो । रोजगारीको सिलसिलामा अमेरिकामा रहनुभएका केसीले आफू र अन्य केही व्यक्तिबाट राहत रकम सङ्कलन गर्नुभएको हो ।
‘भूकम्प प्रभावितलाई सानो भए पनि सहयोग पुगोस् भनेर राहत सङ्कलनको प्रयास गरेको हुँ, बागलुङ घर भई अमेरिका रहनुहुने अन्य साथीले पनि रकम सहायता दिनुभएको छ’ केसीले भन्नुभयो ।
भूकम्पबाट अति प्रभावित परिवार छनोट गरेर राहत वितरण गरिएको क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले बताउनुभयो ।
प्रवासमा रहेर मानवीय सेवाको कार्य गर्नुहुने केसीलाई सोही अवसरमा क्षत्री समाज बागलुङले सम्मान समेत गरेको छ । रासस
No comments:
Post a Comment