भक्तपुर, २९ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गर्नका लागि कार्य अगाडि बढाए पनि स्थानीय निकाय निर्वाचन विद्येयक संसदमा अड्किएकाले ढिलाइ भइरहेको बताउनुभएको छ ।
आज भक्तपुरमा गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा भक्तपुरको १३ आँै वार्षिक साधारण सभामा उहाँले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गर्न लागि परेको उल्लेख गर्नु भयो ।
स्थानीय निकायको निर्वाचन छिटो गर्न नागरिक समाजबाट दबाबमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै मन्त्री शाहीले स्थानीय निकायको निर्वाचन नहुँदा स्थानीय सरकारको अभावमा विकासका काम प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा यसवर्ष जिल्लाका सर्वोउत्कृष्ट छनोट भएको संस्था मानवअधिकार तथा विकास मञ्चलाई पुरस्कार प्रदान गरिएको छ ।
मन्त्री शाहीले मञ्चका अध्यक्ष अनिता पाण्डेलाई नगद रु १० हजारसहित पुरस्कार हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी मन्त्री शाहीले जिल्लाको युवा क्रियाकलाप समाज (सोया) र रुपान्तर नेपाललाई उत्कृष्ट संस्थाको प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद अधिकारी, गैरसरकारी संस्थाका केन्द्रीय कोषाध्यक्ष जीतराम लामा, गैरसकारी संस्थाका भक्तपुरकी उपाध्यक्ष जुन बस्नेत, सचिव सोम शर्मा (बजगाईँ)लगायतले गैरसरकारी संस्थाले देशको आमूल परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गर्दै गरिब जनतासम्म गैरसरकारी संस्थाका कार्यक्रम पुग्नुपर्नेमा जोड दिनुभयो् । रासस
No comments:
Post a Comment