बुटवल, २५ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारबाहिर रहेका दललाई संविधान कार्यान्वयनमा सहकार्यका लागि सरकारमा आउन आग्रह गर्नुभएको छ ।
उहाँले सरकार संविधान कार्यान्वयन गर्दै जनता र राष्ट्रका समस्या समाधान गर्न अघि बढेको बताउँदै यसमा सहकार्यका लागि सरकारमा सामेल हुन आग्रह गर्नुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ मक्रहरमा रहेको जनभावना माध्यमिक विद्यालयको रजत जयन्ती समारोहलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले संविधानबमोजिम तोकिएको समयमा स्थानीय निकाय र अन्य निकायको निर्वाचनसँगै विकास निर्माणका कार्यलाई अगाडि बढाउने स्पष्ट पार्नुभयो ।
उहाँले संविधानले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायलाई समान अधिकार प्रदान गरेको बताउनुभयो ।
त्यस अवसरमा मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा रहेर पनि विद्यालयले गरेको शैक्षिक प्रगतिको सराहना गर्दै विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले त्यस विद्यालयले शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर हुने बताउँदै अगामी दिनमा थप प्रगतिको शुभकामना दिनुभयो ।
विद्यालयका प्राचार्य शम्भुप्रसाद पराजुलीले विद्यालयको समग्र शैक्षिक, आर्थिक तथा भौतिक अवस्थाबारे प्रतिवेदनसहित जानकारी गराउनुभएको थियो । त्यस अवसरमा विद्यालयको विकासमा योगदान दिने महानुभावहरुलाई सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment