ओखलढुङ्गा, ३० फागुन । जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले मुलुकमा रहेका ऊर्जाका अथाह स्रोत साधनहरुको उपयोग गर्ने हो भने छ महिनाभित्रै मुलुकलाई अन्धकारमुक्त गरी जनतालाई ऊर्जामा आत्मनिर्भर गराउन सकिने बताउनुभएको छ ।
जिल्लाको विकट हर्कपुर गाविसमा विभिन्न सहयोगी संस्थाहरु र स्थानीय समुदायको सामूहिक प्रयासमा निर्माण गरिएको ३१ किलोवाट क्षमताको सौर्य लघु ग्रीड परियोजनाको उद्घाटन गर्दै मन्त्री पासवानले विकेन्द्रीकृत ऊर्जा प्रणालीको माध्यमबाट ग्रामीण जनतामा ऊर्जाको पहुँच पु¥याउने वैकल्पिक ऊर्जाका प्रविधिमा लगानी गर्न सहयोगी दातृ एवम् वित्तीय संस्थाहरुसँग आग्रह गर्नुभयो ।
उहाँले नयाँ संविधानले आम जनताको भावनालाई समेट्दै मुलुकलाई आर्थिक उन्नतिको दिशातिर लाग्ने मार्गप्रशस्त गरेकाले अब राजनीतिक एजेण्डाबाट आर्थिक एजेण्डाले प्राथमिकता पाउनुमा जोड दिनुभयो ।
कार्यक्रममा सांसद रामहरि खतिवडाले अझै पाँच वर्षमा केन्द्रीय लाइन पुग्नसक्ने सम्भावना नरहेको विकट ठाउँमा सौर्य ऊर्जाबाट विद्युत सुविधा पु¥याएकामा खुशी व्यक्त गर्दै यस्ता परियोजनाहरु जिल्लाका अन्यत्र पनि विस्तार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
अर्का सभासद् सकुन्तला राजभण्डारीले हाम्रोजस्तो भौगोलिक विकटता रहेको मुलुकमा छरपष्ट रहेका बस्तीमा केन्द्रीय प्रशारण पु¥याउन आर्थिक र प्राविधिकरुपले पनि सम्भव नभएपनि ती दुर्गम वस्तीमा वसोवास गर्ने जनताको बैकल्पिक ऊर्जा प्रविधिबाट ऊर्जाको आवश्यकता पूरा गर्न सकिने बताउनुभयो ।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले केन्द्रले विद्युत् सुविधा पुग्न नसकेका देशका दुर्गम वस्तीहरुमा वैकल्पिक ऊर्जा प्रविधिहरुमार्फत विद्युतीकरणमा जोड दिएको बताउँदै सार्वजनिक निजी साझेदारीमा निर्माण गरिएको यस परियोजनालाई देशका अन्य स्थानमा पनि विस्तार गर्न सकिए त्यसको दिगो सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
एसियाली विकास बैंकका प्रतिनिधि जीवन आचार्यले ग्रामीण जनताको जीवनस्तर अभिवृद्धि गर्नेखालका परियोजनाहरुमा बैंकले सहयोग गर्दै आएको र आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विनरक इन्टरनेशनलका निर्देशक विनोद श्रेष्ठले सरकार, दातृ संस्थाहरु, बैंक तथा स्थानीय समुदायको लगानीमा मुलुकमै पहिलोपटक यस खालको परियोजना सम्पन्न भएको बताउँदै यसको सिकाइबाट अन्य गाउँमा पनि विद्युतीकरण गर्न सकिनेछ भन्नुभयो ।
यस परियोजनाबाट हर्कपुर गाविसका ४२ परिवारले विद्युत् सुविधा प्राप्त गर्नुका साथै विभिन्न १६ वटा व्यवसायहरु सञ्चालन भएका छन् । इन्टरनेट सेवाको पहुँच विस्तार भएपछि अनुगमन प्रणाली र साइबर क्याफे, मोवाइल बैंकिङ, टेलिमेडिसिनजस्ता सेवाहरु गाउँमै उपलब्ध भएका छन् ।
सो परियोजनामा घाम पावर प्रालि र स्थानीय सामुदायिक लगानीकर्ता र एसियाली विकास बैक, डिओइएन फाउण्डेसनबाट अनुदान र एनएमबि बैँकबाट ऋण लगानी भएको छ । रासस
No comments:
Post a Comment