बर्दिवास, १ चैत । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संविधानको सफल कार्यान्वयनका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमी, भक्तपुरले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको अनौपचारिक शिक्षाको अवधारणापत्र, आगामी वर्षको योजना निर्माण र प्रारुप विकासका लागि सुझाव सङ्कलनसम्बन्धी दुईदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाकै कमीले गर्दा संविधानको सफल कार्यान्वयन र मुलुकको द्रूततर विकासमा चुनौती रहेको औँल्याउनुभयो । यो चुनौती पूरा गर्न शिक्षा सम्बद्ध सबै निकायले योजनाबद्ध काममा लाग्न मन्त्री पोखरेलले मन्त्रालय सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो ।
दुईदिने यस कार्यक्रममा संसद्को महिला तथा बालबालिका समाज कल्याण समितिका सभापति रञ्जु झा, शिक्षा मन्त्रालय र अनौपचारिक शिक्षा केन्द्रका निर्देशक, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकका साथै मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका जिल्ला शिक्षा अधिकारीको सहभागिता रहेको छ ।
गोष्ठीले अनौपचारिक शिक्षाको प्रभावकारिता र सहभागिता बढाउन नीति निर्माणका लागि सुझाव सङ्कलन गर्ने अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment