Monday, March 7, 2016

भक्तपुरका शिवालयमा दिनभर दर्शनार्थीको घुइँचो

भक्तपुर, २४ फागुन । महाशिवरात्रि पर्वका अवसरमा आज भक्तपुरका प्रसिद्ध शिवालयमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शीर भाग मानिने प्रसिद्ध डोलेश्वर महादेव मन्दिर आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको थियो ।

अरु दिन मन्दिरको एउटा ढोकामात्रै खुला गरिने भए पनि आज भने दर्शनार्थीका लागि चारैवटै ढोका खुला गरेर सहजरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । आज मध्यराति १२ बजेसम्म चारवटै ढोका खुला गरेर दर्शन गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले दिनभर करिब ३० हजार दर्शनार्थी आएको बताउनुभयो ।

डोलेश्वरमा पञ्चस्नान गर्न चाहने भक्तजनले रु एक हजार १०० को रसिद काटेर दर्शन गरी पञ्चस्नान गर्न पाउने व्यवस्था गरिएको थियो । डोलेश्वरमा हाशिवरात्रि पर्वका लागि भारतबाट आएका करिब ३०० नागा बाबा एवम् साधुसन्तलाई दुई दिन अघिदेखि नै धुनी बाल्ने, खाने र बस्ने व्यवस्था गरिएको थियो ।

भोलि बाबा एवम् साधुसन्तलाई बिदाइ कार्यक्रम गरी ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७०० र ‘ग’ वर्गकालाई रु ५०५ नगदसहित एक÷एक थान कम्बल एवम् दुई दुई थान धोती प्रदान गरी बिदाइ गरिने उहाँले जानकारी दिनुभयो । महाशिवरात्रि पर्व सम्पन्न गर्न करिब रु २० लाख खर्च हुने अनुमान गरिएको प्रचारप्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिनुभयो ।

त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । डोलेश्वर आउने अधिकांश दर्शनार्थी आशापुरी जाने गरेपछि यस वर्ष आशापुरीमा पनि दर्शनार्थीको भीड लागेको हो । भक्तपुरको चित्तपोलस्थित विश्वकै अग्लो मानिने १४३ फिट अग्लो कैलाशनाथ महादेव मन्दिरमा पनि बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको थियो ।

आज यहाँ करिब २५ हजारभन्दा बढी दर्शनार्थी आएको र राति १० बजेसम्म पनि दर्शन गर्ने व्यवस्था गरिएको कैलाशनाथ महादेव मन्दिर व्यवस्थापन समितिको प्रमुख कमल जैनले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts