काठमाडौँ, २४ फागुन । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रनिङ ट्रफी –२०७२’ को उपाधि पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सुनसरीले जितेको छ ।
सशस्त्र प्रहरी बल, केन्द्रीय खेलकुद समितिको आयोजनामा हल्चोकस्थित मैदानमा आज सम्पन्न खेलमा बराह बाहिनीले सात स्वर्ण, दुई रजत र दुई कास्य पदक जित्दै उपाधि जितेको हो । त्यस्तै, छ स्वर्ण र दुई कास्यसहित मध्यपश्चिम क्षेत्रीय सशस्त्रको मुख्यालय महेश्वरी बाहिनी सुर्खेत दोस्रो र दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित महानगरीय सशस्त्र प्रहरी कार्यालय तृतीय भएको छ ।
यही फागुन २० गतेदेखि सुरु भएको प्रतियोगिताका फुटबल, भलिबल र एथ्लेटिक्सका विभिन्न खेल समावेश थिए भने दुई सय ६२ खेलाडीले सहभागिता थियो । प्रतियोगितामा बराह बाहिनी, महानगरीय सशस्त्र प्रहरी कार्यालय, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनीगरी छ टोलीकोे सहभागिता थियो ।
विजेतालाई कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल नेपाल एपिएफ क्लबका २७ जना खेलाडीलाई समेत नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो । रासस
No comments:
Post a Comment