काठमाडौँ, १९ काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले नयाँ संविधानको ढाँचाअनुसार पार्टीको विधान महाविशेन लगत्तै संशोधन हुने बताउनुभएको छ ।
काँग्रेस प्रचार–प्रचार समितिले आज यहाँ महाधिवेशनको जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले महाधिवेशनअघि नै विधान संशोधन गर्न तयारी गरेको भए पनि केही मतभेद भएका कारण अहिले हुन नसकेको स्पष्ट पार्नुभयो ।
तराईको समस्या समाधानका लागि काँग्रेस सचेत रहेको र पहल गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति पौडेलले १३औँ महाधिवेशनले पार्टीको भावी कार्यदिशा स्पष्ट पार्ने जानकारी दिनुभयो ।
सम्मेलनमा वरिष्ठ नेता शेरबहादुर देउवाले लामो समयपछि जनताको चाहनाबमोजिम संविधानसभाबाट समावेशी संविधान जारी भएको उल्लेख गर्दै अब मुलुकको प्राथमिकता संविधानको सफल कार्यान्वयन गर्नुभएको बताउनुभयो ।
नेता देउवाले संविधानले व्यवस्था गरेका सङ्घीय लोकतन्त्रिक गणतन्त्र र समावेशी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै नेपालका बामपन्थी पार्टीलाई बहुदलीय प्रजातान्त्रिक प्रणालीमा रुपान्तरण गर्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो ।
महामन्त्री प्रकाशमान सिंहले आफू १२औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि साँढे पाँच वर्षसम्म सन्तोषजनक काम गरेको अवगत गराउँदै पार्टीलाई संस्थागत रुपमा अघि बढाउन स्वर्गीय सभापति सुशील कोइरालाले थालेको अभियानलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले सुशील कोइरालाको नेतृत्वमा मुलुकले संविधानसभाबाट समावेशी संविधान पाएको उल्लेख गर्दै अब मुलुकमा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनः निर्माण र आर्थिक समृद्धि प्राथमिकतामा हुनुपर्ने बताउनुभयो ।
सम्मेलनमा प्रचार–प्रसार समितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले बिहीबारदेखि राजधानीमा सुरु हुने पार्टीको १३औँ महाधिवेशनका बारेमा सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो । रासस
No comments:
Post a Comment