मलेखु (धादिङ), २२ फागुन । कुनै पनि बहानामा कुनै पनि लाइफलाइन बन्द नहुने गृहमन्त्री शक्ति बस्नेतले बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घको दोस्रो जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
धादिङमा पर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा सवारी साधन बिग्रेर र धेरै भार भएका सामान बोक्ने गाडी उकालो बाटोमा हिँड्न नसकेर हरेक दिन सवारी जाम हुँदा कैयौँ मानिसको मृत्युसमेत हुने गरेकाले यसतर्फ गृहमन्त्रीको नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव ओम शर्माले ध्यानाकर्षण गराएपछि गृहमन्त्री बस्नेतले यस्तो आदेश गर्नुभएको हो ।
जनताले आपूर्ति व्यवस्थामा सुधार गरी अनुभूति गर्न सक्ने अवस्थामा सुधार गर्ने बताउँदै गृहमन्त्री बस्नेतले कुनै पनि बहानामा कानुन नीतिबाहेकको हकमा सिन्डिकेट मान्य नहुने भएकाले कानुन विपरीत उभिनेलाई छाड्न नसकिने दाबी गर्नुभयो ।
सरकारले जति काम गर्नुपथ्र्यो त्यो गर्न नसकेको बताउँदै अबको कार्यभार संविधानको व्यावहारिक कार्यान्वयन भएकाले यसतर्फ जोड दिने उहाँको भनाइ थियो ।
राजनीतिक व्यवस्था परिवर्तनपछि संविधान निर्माणले एउटा कार्यभार पूरा गरेको बताउँदै गृहमन्त्री बस्नेतले जनताको उन्नतिका लागि वर्तमान संविधान कार्यान्वयनमा जोड दिनुभयो ।
संविधानको व्यवहारमा कार्यान्वयन हुँदा युवाले विदेशिनु नपर्ने, संविधानको मौलिक हकअन्तर्गत रोजगारीको हक, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षाको हक भएकाले आधारभूत कुरा सरकारको दायित्वभित्र पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मा, क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव ओम शर्र्मालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment