फलेवास (पर्वत), २९ फागुन । फलामखानी गाविसमा निर्माण गरिएको वायु ऊर्जा केन्द्र अलपत्र परेको छ ।
एक दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा केन्द्र समयसमयमा मर्मतसम्भारको अभावमा प्रयोगविहीन बन्न पुगेको छ । केन्द्रबाट विद्युत् उत्पादन नभएकाले त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेका छन् ।
लथालिङ्ग अवस्थामा रहेकोे वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले माग गरेका छन् । लामो विद्युत्भार कटौतीको पीडामा रहेका उक्त क्षेत्रका बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन् ।
विसं २०६३ मा स्थापना भएको उक्त केन्द्र एक वर्षपछि नै बन्द भएको थियो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको सो आयोजना संरक्षण र मर्मत नहुँदा बन्द भएपछि लगानी डुबेको स्थानीयवासी गोविन्द विश्वकर्माले बताउनुभयो ।
समुन्द्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको अत्याधिक हावा लाग्ने पर्वतको फलामखानी ढडेनको डाँडामा उक्त वायु ऊर्जा केन्द्र स्थापना गरिएको थियो ।
करिब १२ किलोवाट क्षमताको उक्त केन्द्र सञ्चालनमा आएपछि फलामखानी, भङ्गरालगायतका करिब १५० घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका थिए ।
हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला विकास समिति, नेपाल सरकार ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको विश्वकर्माले बताए ।
सरकारले दुई वर्षभित्र मुलुकलाई पूर्ण विद्युत्भार कटौतीमुक्त गराउने घोषणा गरेका बेला यस्ता परियोजनालाई थोरै लगानीमा पुनःसञ्चालन गर्नसकेमा विद्युत्भार कटौती कम हुने गाविस सचिव टीकाराम सुवेदीले बताउनुभयो ।
सयुंक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदनअनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । रासस
No comments:
Post a Comment