Thursday, March 17, 2016

व्यापार र यौन पर्वको रुपमा होली मनाउँछन् भक्तपुरवासी

भक्तपुर, ४ चैत्र । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एकसातासम्म मनाउने छन् ।

भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म “भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायेक सो झाया ला” (भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि) जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व भक्तपुरमा सुरु भएको हो ।

भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको छ । भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग (काठबाट बनेको) र द्रौपतीको योनीको प्रतीक (कपडाबाट बनेको) लाई झुन्ड्याएर यौन समागमको रुपमा एक सातासम्म प्रदर्शनमा राखिएको छ ।

काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन (हिजो) दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्याम्हसिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो । भक्तपुरका संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवारी परम्पराअनुसार यसलाई ‘चीर स्वायेगू’ भनिन्छ । चीर स्वायेगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुन्छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ ।
आज बिहानदेखि यसको पूजा एवम् दर्शन गर्न स्थानीय जनता मन्दिरमा आउने गर्दछन् । शनिबार र मङ्गलबार यसको पूजा एवम् दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटक पनि यसको अवलोकनका लागि आउने गर्दछन् ।

दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायेगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ ।

मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने जनविश्वास छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts