बुटवल, ४ चैत । सबैभन्दा बढी बाल विवाह हुने १५ जिल्लामा रुपन्देही परेको भन्दै त्यस्ता कार्य नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
वल्र्डभिजन इन्टरनेसनल नेपाल बुटवल क्षेत्र विकास कार्यक्रमले आज यहाँ आयोजना गरेको ‘रुपन्देहीमा बाल विवाहको अवस्था, चुनौती र सरोकारवाला निकायको भूमिका’ विषयको जिल्लास्तरीय अन्तक्र्रियाका वक्ताले व्यक्तिमा चेतना नबढ्दासम्म बाल विवाह नरोकिने बताएका हुन् ।
अन्तक्र्रियामा प्रजिअ विष्णुप्रसाद ढकालले बाल विवाह गराउने जो कोहीलाई कारबाही गर्न स्थानीय प्रशासन नचुक्ने प्रस्ट पार्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाईंले बाल विवाहका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले स्वास्थ जीवनका लागि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले प्रहरीको एक्लो प्रयासले मात्र बाल विवाह नरोकिने भएकाले यसमा सबैको समन्वय हुनुपर्ने जोड दिनुभयो । अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले बाल विवाहका बारेमा सरोकारवाला निकायमा निकै कम उजुरी पर्ने बताउनुभयो ।
कार्यक्रममा सरोकारवाला सरकारी निकायका प्रमुख, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, गाविस सचिव, सामाजिक अगुवा तथा सञ्चारकर्मीको सहभागिता थियो । रासस
No comments:
Post a Comment