काठमाडौँ, २७ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा मुस्लिम कोटाबाट फर्मुल्लाह मन्सुर विजयी हुनुभएको छ । काँग्रेसको मुस्लिम कोटाबाट मन्सुर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार उहाँ एक हजार २२६ मत प्राप्त गरी केन्द्रीय समितिमा निर्वाचित हुने पहिलो सदस्य बन्नुभएको छ । उहाँका निकट प्रतिस्पर्धी मोहम्मद आफताब आलमले एक हजार ४४ मत प्राप्त गर्नुभएको थियो ।
खुलातर्फको २५ केन्द्रीय सदस्यमा भएको निर्वाचनको मतगणनामा नेता खुमबहादुर खड्काले अग्रता लिनुभएको छ । मतगणना शुक्रबार १० बजेसम्मका लागि स्थगन भएको छ ।
काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा ४०० मत गणना गर्दा खड्काले २४२ मत ल्याउनुभएको छ भने दोस्रोमा प्रकाशमान सिंहले २३७ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार डा शेखर कोइराला २३७, प्रदीप पौडल २३१, बालकृष्ण खाण २२६, विमलेन्द्र निधि २२५, महेश आचार्य २२०, रमेश लेखक २१८, प्रदीप गिरी २१७, पूर्णबहादुर खड्का २१४, धनराज गुरुङ २०५, डा रामशरण महत २०५, सुजाता कोइराला २०५, कुलबहादुर गुरुङ २०४, विश्वप्रकाश शर्मा २०४ र डा प्रकाशशरण महतले २०३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै बलबहादुर केसी १९७, शङ्कर भण्डारी १९४, डा मीनेन्द्र रिजाल १८४, गोपालमान श्रेष्ठ १९१, चन्द्र भण्डारी १८७, डा प्रकाशशरण महत १४८, बद्री पाण्डे १८१, एनपी साउद १७९, ज्ञानेन्द्रबहादुर कार्की १७९ र जिपछिरिङ लामाले १६७ मत प्राप्त गर्नुभएको छ ।
पच्चीस खुला केन्द्रीय सदस्य पदका लागि ९० जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ । रासस
No comments:
Post a Comment