काठमाडौँ, १८ वैशाख । कानून विषयका प्राध्यापक सुरेन्द्र भण्डारीको कृति ‘कन्स्टिच्युसनल डिजाइन एण्ड इम्प्लीमेन्टेसन डाइनामिक्स ः फेडरलिजम एन्ड इन्क्लुसिभ नेशन विल्डिङ इन नेपाल’को आज सार्वजनिकीकरण गरिएको छ ।
हिमाल इन्नोभेटिभ एन्ड रिसर्च प्रकाशक रहेको उक्त पुस्तकको पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्नुभएको हो ।
नेपालको संविधान जारी भएपछिको मधेस आन्दोलन, अघोषित नाकाबन्दी र संविधान कार्यान्वयनका चूनौति समेतका विषयलाई समेटेर तयार पारिएको उक्त पुस्तकमा अरु समसामयिक विषयवस्तुसमेत समावेश रहेको छ ।
संविधान नेपालको राजनीतिक परिस्थिति, अन्तरराष्ट्रिय कानुन एवम् राष्ट्र निर्माणमा चूनौती र सम्भावनाबारेमा प्राज्ञिकरुपमा विश्लेषण गरिएको उक्त पुस्तक कानुन व्यवसायी, राजनीतिकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाजलगायत समाजका सवै तह र तप्कालाई अध्ययन गर्न उपयोगी हुने छ ।
नेपालको ७० वर्षको सवैधानिक इतिहासको क्रममा किन पटक पटक संविधान फेरिए ? लगायतका महत्वपूर्ण घटना र विश्लेषणसहितको दशवटा शीर्षकमा विभाजित उक्त पुस्तकले संविधान र राजनीतिका सम्वन्धमा जान्न चाहने इच्छुक पाठकका केही समसामयिक जिज्ञासालाई सम्बोधन गर्ने लेखकले अपेक्षा राख्नुभएको छ ।
पुस्तकको सार्वजनिकीकरण गर्दै पूर्व प्रधानन्यायाधीश उपाध्यायले संविधान, कानुन र विश्व संविधानवादको पक्षलाई समेत समेटेर सरल भाषामा तयार गरिएको प्राध्यापक भण्डारीको पुस्तकबाट खास गरी कानूनका विद्यार्थी बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
संविधानविद् निलाम्बर आचार्यले समकालीन नेपाल, सवैधानिक र राजनीतिक मूल्य मान्यतालगायतका विषयमा बुझ्न चाहनेका लागि पुस्तक ठूलो खुराक हुनेछ भन्नुभयो ।
लेखक भण्डारीले कानून र राज्यको समान उद्देश्य भनेको न्याय दिनु, पक्ष र संविधानवादका अन्तरराष्ट्रिय मूल्यमान्यतामा आधारित भएर विश्वमा कसरी संविधान निर्माण गरिन्छलगायतका विषयबस्तु पुस्तकमा समेटिएका छन् भन्नुभयो । रासस
–––––
No comments:
Post a Comment