Tuesday, April 12, 2016

टहरोमा दिन गुजार्न परेपनि नयाँ वर्षको आगमनले खुसी छन् बारपाकी

बारपाक (गोरखा), १ वैशाख । हातमा कुखुरा च्यापेर बारपाक–२ मान्द्रेकी करुणा गुरुङ टहरो फर्कंदै थिइन् । कुखुराको झोलसँग भात खाएर नयाँ वर्ष मनाउने उनको तयारी छ ।

गत वैशाख १२ गतेको बज्रपातबारे उनले सम्झन पनि चाहिनन् । भुलुभुलु लागेपछि अमाजूको यादले उनलाई सताउँछ । उनकी अमाजू (कान्छी गुरुङ) अन्धो (आँखा नदेख्ने) थिइन् । “भूकम्पले घर हल्लाएपछि अरू भागे, उनी भाग्न सकिनन्, घरभित्रै थिचिएर बित्नुभयो,” करुणाले स्मरण गर्दै भनिन् । यतिभन्दा उनका आँखा रसाए । काखमा च्यापेको कुखुरा भुइँमा राखिन् । करुणाको मात्रै होइन, बारपाक–२ मान्द्रेका छ जनाको परिवारले उस्तै पीडा खेपेका छन् ।

जताततै चिराचिरा परेपछि लास गाड्ने ठाउँ घरको आँगन सुरक्षित ठाने उनीहरुले । भूकम्पले भत्काएको घरको आँगनमा लास गाडेपछि उनीहरु अर्काको जग्गामा गएर बस्न थाले । “महिनाको ५०० भाडा तिर्नुपर्छ,” स्थानीयवासी धनबहादुर गुरुङले भने – “कमाई केही छैन, कसरी भाडा तिरुँ ?” राहतमा आएको १५ हजारले भाडा तिर्दै आएको उनले बताए ।

भूकम्पले घर ढालेपछि टहरोमा बसेका मान्द्रे–२ का अस्पिनी गुरुङको परिवार अहिले आफ्नै घरमा बस्छन् । “कुर्दा–कुर्दा सरकारबाट पैसा आएन,” उनले भनिन् – “बूढाले ऋण खोजेर घर बनाइदियो ।” रु तीन लाख खर्चेर उनीहरुले घर त बनाए तर ऋण कसरी तिर्ने भन्ने निक्र्योल गर्न सकेका छैनन् । “बारी बेचेर भए पनि ऋण तिर्छु, अर्काको खान्न,” उनले भनिन् ।

बारपाक–८ की सन्तमाया घले भूकम्प आउँदा घरभित्र थिइन् । भाग्दाभाग्दै घरको गारोले उनलाई थिच्यो । गोडामा गहिरो चोट लाग्यो । पेटमा बच्चा भएकी उनले थप दुःखकष्ट झेल्नुप¥यो । विदेशमा रहेका उनका पति पासाङ घर फर्किए । अस्पताल लगेर श्रीमतीको उपचार गरे । छोरो जन्मियो । छोराको नाम उज्ज्वल राखे ।

नयाँ घर निर्माणमा खटेका बारपाक–७ का आशबहादुर गुरुङलाई आजभोलि गाउँ घुम्न गएका नयाँ मान्छेले दिक्दार बनाएका छन् । भूकम्पपछिका घटनाबारे जानकारी दिँदादिँदा उनी हैरान भएका हुन् । “पालमुनि बस्दा–बस्दा मान्छे मर्ने भयो,” उनले भने, “प्रधानमन्त्रीले घर बनाउन पैसा दिन्छु भनेर भाषण गरेथे, अहिलेसम्म दिएनन् ।” गाउँमा फोटो खिच्ने मान्छे धेरै आए पनि एक कप चिया खुवाउने कोही नआएकामा उनी दुःखी छन् । “वर्षभर फोटो खिच्न दिएरै बित्यो, एक कप चिया कसैले पत्याएन,” उनले भने ।

बारपाक–८ की कालीमाया गुरुङ टहरोमा बख्खु बुन्दै थिइन् । भूकम्पपछि राहत, निर्माण सामग्रीको जोहो गर्न मानिस भौँतारिँदै हिँडे पनि उनले आफ्नो पेसा छाडिनन् । बख्खु बेचेको आम्दानीले उनको परिवार धानिएको छ । “दुई छाक खान अरूसँग भिख माग्नु पर्दैन,” उनले भनिन् ।

बारपाकका (मान्द्रे, कोजे, स्नान, पोखरीसहित) करिब एक हजार ४५७ घरधुरीका भूकम्प प्रभावित कोही पनि त्रिपालमा छैनन् । जस्तापाताले छाएको टहरो उभ्याइसकेका छन् । त्रिपाल छाडेर टहरोमा बस्न एक वर्ष कुरे । आफ्नो मिहेनत, सरकारी तथा दातृ निकायको सहयोगले भूकम्प प्रभावित बारपाकी तङ्ग्रँदै छन् । पुनःनिर्माणमा जुटेका छन् । स्थानीयवासी जस्तापाताले छाएको सुरक्षित टहरोमा सरे पनि सिङ्गो गाउँको सुरक्षार्थ खटिएको नेपाल प्रहरी अझै त्रिपालभित्र छ । तीनओटा त्रिपालबाट प्रहरी चौकी सञ्चालन गरिएको हो । नेपाल प्रहरीले दिएको त्रिपाल च्यातिसकेको भए पनि भवन बनाउने मेलोमेसो देखिएन । “जाइकाले भबन बनाइदिन्छु भन्यो, अहिलेसम्म बनाएन,” एक प्रहरीले भने ।

चौकीमा १२ जना प्रहरी छन् । उनीहरुले सिङ्गो गाउँको सुरक्षा गर्छन् । बारपाक मात्रै होइन बालुवा, नयाँसाँघुलगायत प्रहरी चौकी पनि त्रिपालभित्रबाटै चलेका छन् । भूकम्पपछि राहत सामग्री वितरण र पुनःनिर्माणमा केयर नेपाल नामक संस्थाले गाउँलेलाई सहयोग गर्दै आएको छ । डब्लुएफपीको सहयोगमा सप्रोस नामक संस्थाले कामका लागि खाद्यान्न कार्यक्रम चलाएर गाउँमा मोटरबाटो बनायो । बारपाक चक्रपथभित्र छ । गाउँमा खानेपानीको सुविधा पु¥याउन केयर नेपालले तीन करोड रुपैयाँ लगानीमा खानेपानी आयोजनाको काम धमाधम अघि बढाएको छ । स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्छन् । औषधिको अभाव छैन । भूकम्प प्रभावित सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यता भने अझै हटेको छैन । “गाविस सचिव सदरमुकाम बस्छन्, बेलाबेला मात्रै गाउँ आउँछन्,” एक सेवाग्राहीले भने । गाउँलेले आफ्नै सीप र शैलीबाट घर बनाएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts