काठमाडौँ, १८ वैशाख । नेपाली लेखक सङ्घको दुईदिने छैटाँै राष्ट्रिय महाधिवशेन आजदेखि यहाँ सुरु भएको छ ।
मुलुकभरबाट चुनिएर आएका ३३७ जना प्रतिनिधिले सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व छनोट गर्नेछ ।
विसं २००८ मा स्थापना भएको लेखक सङ्घका संस्थापकमा आख्यानकार तथा नाटककार गोविन्दबहादुर मल्ल गोठाले, महाकवि लक्ष्मीप्रसाद देवकोटा, साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालगायत हुनुहुन्थ्यो ।
महाधिवेशनको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले समान उद्देश्य, हकअधिकार र विचार बोकेका संस्थाबीच पनि नयाँ संस्था जन्मनु भनेको विचारको स्वतन्त्रता र पहिचनका लागि हो भन्ने आफूले बुझेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “लोकतान्त्रिक मूल्यमान्यतामा आधारित वैचारिक स्वतन्त्रतामा सिर्जना फस्टाउँछ ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकूलपति एवम् सङ्घका अध्यक्ष विष्णुविभू घिमिरे अध्यक्षतामा भएको महाधिवेशन उद्घाटनसत्रमा सल्लाहकार पुरुषोत्तम बस्नेत, बलदेव मजगैंया, डा धु्रवचन्द्र गौतम, दिनेश अधिकारी, डा तुलसीप्रसाद भट्टराई, गीताकेशरी तथा प्रजातान्त्रिक विचार समाजका उपाध्यक्ष एवम् राससका अध्यक्ष कुलचन्द्र वाग्लेले महाविधेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि बैरागी काइँलाले सङ्घले प्रकाशित गरेको लेखक स्मारिकाको विश्वेश्वरप्रसाद कोइराला विषेशाङ्कको विमोचन गर्नुभयो ।
सङ्घको महाधिवेशनअन्तर्गत आजै भएको बन्दसत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भइसकेको छ भने भोलि आगामी नेतृत्वका लागि निर्वाचन हुनेछ । रासस
No comments:
Post a Comment