काठमाडौँ, १८ वैशाख । दश मजदुर सङ्गठनको संयन्त्र ‘संयुक्त टे«ेड युनियन समन्वय केन्द्र’ले श्रम आयोग गठन गर्नुपर्ने माग गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष खिलनाथ दाहालले संविधानमा धेरै आयोग गठन भए पनि श्रमिक वर्गको आधारभूत हकअधिकारका लागि गठन हुनुपर्ने श्रम आयोग गठन नभएको भन्दै तुरुन्त आयोग गठनको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।
आफूहरुले माग गरेअनुरुप संविधानमा सामूहिक सौदाबाजीको अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति गरिए पनि राज्यका नीति निर्माणमा श्रमिकको १० प्रतिशित प्रतिनिधित्व, देश र विदेशमा कार्यथलोबाटै मताधिकारको माग पूरा नभएको उहाँले बताउनुभयो ।
श्रम ऐन र सामाजिक सुरक्षा ऐन लामो समयदेखि थन्किएको भन्दै तुरुन्त पारित गर्न केन्द्रले माग गरेको छ ।
केन्द्रले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको विप्रेषण र स्वदेशका श्रमिकको पारिश्रमिक सदुपयोग गरी जलविद्युत् तथा अन्य परियोजना प्रारम्भ गर्न माग गरेको छ ।
श्रमिकको न्यूनतम ज्याला वृद्धि गर्न, सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीको तलब, भत्ता तथा सुविधा समयानुकूल वृद्धि गर्न, कम आय भएका श्रमिकलाई राशन कार्डको व्यवस्था गर्नुपर्ने केन्द्रले तयार पारेको घोषणापत्रमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र अभिमुखीकरण तालिम सरकारी निकायबाटै मिलाउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
यो वर्ष १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।
यो वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम सार्वजनिक गरेका छन् ।
यसैबीच ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले आफूहरुको श्रमको सम्मान हुनुपर्ने माग गर्दै भोलि बिहान शान्तिबाटिकामा ¥याली गर्ने भएका छन् । रासस
No comments:
Post a Comment