काठमाडौँ, ७ वैशाख । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले पूर्वाञ्चल महिला फुटबल टोलीलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) खेल मैदानमा आज भएको खेलमा पुलिसले पूर्वाञ्चलमाथि ४–१ को सहज जित निकाल्यो ।
खेलको पहिलो हाफसम्म ३–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा एक गोल थप्यो । पुलिसकी निरु थापाले खेलको पहिलो हाफको २५ औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् । पुलिसकी अर्की खेलाडी यशोधा लामाले खेलको ३३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
त्यसैगरी निसा सुनुवारले खेलको ४४ औँ मिनेटमा गोल थपेपछि खेलको पहिलो हाफसम्म ३–० ले अगाडि रहेको पुलिसले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो ।
पूर्वाञ्चलकी मञ्जु राईले खेलको ५५ औँ मिनेटमा करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । त्यसैगरी खेलको ६४ औँ मिनेटमा प्रहरीकी निसाले पुन एक गोल थपेपछि पुलिसले ४–१ गोलअन्तरको सहज जित निकाल्यो ।
खेलको निर्धारित समयसम्म गोल फर्काउन निकै प्रयासरत पूर्वाञ्चल अन्ततः हार बेहोर्न बाध्य बन्यो । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु दुई लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख प्राप्त गर्नेछ । रासस
No comments:
Post a Comment