काठमाडौँ, ७ वैशाख । गायिका पूजा सुनुवारको पहिलो एकल गीतिसङ्ग्रह ‘नजर’ बजारमा आएको छ ।
गीति सङ्ग्रहको आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङलगायतले लोकार्पण गर्नुभयो । डिपी खनालको एकल शब्द तथा शङ्कर थापा ‘स्माइल’को एकल सङ्गीत रहेको सङ्ग्रहमा भिन्नभिन्न शैलीका चार गीत समावेश गरिएका छन् । जसमा माया–प्रेम, मीलन–विछोड तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत छन् ।
गायिका सुनुवारले २०६० सालमा पहिलोपटक ‘खबर कस्तो छ’ बोलको लोक दोहोरी गीत रेकर्ड गर्नुभएको थियो । उहाँले हालसम्म करिब पाँच दर्जनजति गीतमा स्वर दिनुभएको छ ।
वरिष्ठ सङ्गीतकार गुरुङले गायिका सुनुवारलाई आफूले सङ्गीत सिकाएको स्मरण गर्दै उहाँमा पहिलेदेखि मेहेनती, सङ्घर्षशील र प्रतिभावान भएको बताउनुभयो ।
गीतिसङ्ग्रहको समीक्षा गर्दै सङ्गीतकार किरण कँडेलले शव्द, सङ्गीत र स्वर तीनै क्षेत्रमा अब्बल रहेको बताउनुभयो । सो सङ्ग्रहमा समावेश ‘नसम्झी बसुँ’ बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । रासस
No comments:
Post a Comment