त्रिशूली (नुवाकोट), १० वैशाख । यहाँका भैरवी मन्दिर र देवीघाटको जालपा मन्दिरमा लाग्ने मेला आजदेखि सुरु भएको छ ।
सिन्दुरे जात्रा भनिने यो जात्रा नुवाकोटको सबैभन्दा धेरै दिन लाग्ने ठूलो पर्व समेत हो । चैत शुक्ल पूर्णिमाको तिथिमा लाग्ने मेलाको पूर्वसन्ध्यामा बिहीबार साँझ भैरवी मन्दिर र गुह्येपाटीमा सल्लाको लिङ्गो उठाइएको थियो ।
धामीजात्रा पनि भनिने सिन्दुरे जात्राको प्रारम्भिक प्रक्रिया १५ दिनअघि खानीगाउँ गाविसको नारायणदेवी उमावि नजिकै पूजाअर्चना गरेपछि सुरु हुने गर्छ ।
आज बिहानैदेखि देवीघाटको जालपादेवी मन्दिरमा पूजापाठ र स्नान गर्नेको घुइँचो लागेको थियो । अहिले भैरवी मन्दिरको रथसहित धामी र धमिनीको यात्रा जालपा मन्दिर देवीघाटतर्फ जाने क्रम चलिरहेको छ भने स्थानीयवासीले रथा पूजा र धामीधमिनीको दर्शन गरिरहेका छन् । विभिन्न विधि एवम् परम्परानुसार रथयात्रा गर्ने क्रममा बट्टार, इनारपाटी लगायत क्षेत्रमा धामीधमिनीलाई पूजाअर्चना गर्नेको भिड लागेको छ ।
आइतबार भैरवी मन्दिरमा लाग्ने सिन्दुरे जात्राका लागि निमन्त्रणा गर्नका लागि बहिनी भैरवी दिदी जालपालाई भेट्न देवीघाट जाने गरेको विश्वासमा यो पर्व मनाइँदै आएको छ ।
चैत शुक्ल द्वितीयाका दिन साततले दरबार राष्ट्रिय सङ्ग्रहालयसँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको निम्तास्वरुप बहिनी भैरवीले दिदी जालपादेवीलाई बोलाउन गएको किंवदन्ती पाइन्छ ।
बहिनी भैरवीको दूतका रुपमा भैरवीका पुजारी गणेश, कुमारका साथ बाजागाजासहित रथ यात्रा गरेर जालपादेवी पुग्ने प्रचलन छ । आज राति जालपादेवी मन्दिरमा धामीले विधिपूर्वक पूजा गरेपछि जिउँदो पशुको भोग खाने प्रचलन छ । रासस
–––––––––
No comments:
Post a Comment