ललितपुर, १२ वैशाख । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले भूकम्पपछिको पुनःनिर्माणको थालनी नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।
पाटन दरबारमा आज आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले पुनःनिर्माण कार्यमा केही समय लागे पनि तीव्रगतिमा काम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । भूकम्पले ध्वस्त बनाएका संरचनाको लगत सङ्कलन गर्न एक हजार ६०० इन्जिनियर प्रभावित क्षेत्रमा क्रियाशील रहेको उहाँले बताउनुभयो ।
आजदेखि नै विशेष गरी विद्यालय, स्वास्थ्य संस्थालगायतका महत्वपूर्ण संरचना निर्माणमा सरकार अघि बढिसकेको उहाँको भनाइ रहेको छ । भूकम्पपीडितलाई आफ्नो घर निर्माणका लागि सरकारले प्रदान गर्ने रु दुई लाख अनुदान तीव्ररुपमा वितरण भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले सहुलियत दरमा पीडितले पाउने ऋण विस्तारै सहज गरिँदै लैजाने बताउनुभयो । बर्सात्अघि नै पीडित परिवारको प्रत्येक घर निर्माण गर्न ढिलाइ भएपनि सामूहिक आवासको व्यवस्था गरिन लागेको उहाँले जानकारी दिनुभयो ।
भूकम्पबाट प्रभावित क्षेत्रमा रहेका समस्यालाई जस्ताकोतस्तै सञ्चार र कलाको माध्यमबाट बाहिर ल्याएर पुनःनिर्माण कार्यमा सहयोग गरेकोमा उहाँले प्रशंसा गर्नुभयो । अब पुनःनिर्माण कार्यमा सिङ्गो राज्य, जनता, नागरिक समाज स्वतस्फूर्त लाग्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।
अकल्पनीय रुपमा आएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमै आएको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । पूर्वसूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले भूकम्पपछिको पुनःनिर्माण कार्य सकारात्मक रुपमा अगाडि जानेमा आफूलाई विश्वास रहेको बताउनुभयो । कलाकार अनिल चित्रकारले पुनःनिर्माण कार्यमा सबै नेपाली एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
तस्बिर प्रदर्शनीका कलाकार भुवन रोक्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारको पहलमा कार्यक्रम गरिएको बताउनुभयो । तस्बिर प्रदर्शनीका कलाकारमा रोज विल्किनसन, जोनाथन विलियम्स, चाविस लोक, मार्ली गोर्दन, ह्यारी मोर्गान, एनिका जेम्स, रितु थापा, सेरमन नेपाली, जेनी सोपलगायत रहेका थिए । रासस
No comments:
Post a Comment