काठमाडौँ, १६ वैशाख । ‘रामायण’ आदिकाव्यका रचयिता वाल्मीकिले अघि सारेका दार्शनिक चिन्तनले समाजलाई नैतिकवान् बनाउन मद्दत गर्ने बताइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागको आयोजनामा आज भएको विचार गोष्ठीमा वक्ताले वाल्मीकिले राम र रावणको चरित्रलाई मानिसको दुई स्वभावसँग तुलना गर्दै नैतिकवान् समाज निर्माण गर्नुपर्ने सन्देश व्यक्त गरेको बताए ।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रत्यक्ष र परोक्ष रुपमा वाल्मीकि र ‘रामायण’ले समाजमा सकारात्मक छाप छाडेको बताउनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नवलपरासीमा रहेको वाल्मीकिको आश्रम संरक्षणका लागि प्रतिष्ठानबाट पहल र सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले ‘रामायण’लाई धर्मग्रन्थका रुपमा सबैले सम्झिए पनि त्यसका रचयिता वाल्मीकिलाई भने त्यति सम्झने नगरिएको बताउनुभयो ।
कार्यक्रममा प्रा डा टीकाराम अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै वाल्मीकिले ‘रामायण’मा रामको चरित्र मार्फत सबैलाई सत्यको बाटामा हिँड्न प्रेरित गरेको र सदाचार पालनाका लागि राम वनवास गएको बताउनुभयो । वाल्मीकिले त्यसमा आत्माको नैतिक अवस्थाको व्याख्या गरेको बताउँदै उहाँले भन्नुभयो– “रामले रावणलाई युद्धमा जितेर नैतिक समाजको निर्माण गराएका थिए ।”
उहाँको कार्यपत्रमाथि टिप्पणी गर्दै दर्शनशास्त्री विष्णु प्रभातले वाल्मीकि त्यस्ता पात्र हुन् जसले रामायणमा रामलाई मानव रुपमा चित्रण गरी मानिसलाई सर्वश्रेष्ठ भनी उभ्याएका छन् भन्नुभयो । उहाँले वाल्मीकि आश्रम नेपालमा पर्ने भएकाले उनको जन्मस्थल नेपालमै हो भन्ने अनुमान भइरहेकाले उनको जीवनीमाथि छलफल र अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।
विभाग प्रमुख प्रा दिनेशराज पन्तले २०६२÷६३ को आन्दोलनपछि गठित विभागले अहिलेसम्म गरेका विभिन्न कार्यक्रमबारे जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment