गाईघाट (उदयपुर), २८ चैत । उदयपुरको खाँबु गाविस–९ मा शनिबार भएको आगलागीमा दुई घरमा आगलागी हुँदा करिब रु २८ लाख बराबरको क्षति भएको छ ।
स्थानीय जङ्गलबाट सल्केर आएको आगोले खाँबु–९ को सिंहबहादुर मगरको घरमा आगलागी हुँदा मगरको तीनतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आगलागीका कारण मगरको घरको लत्ताकपडा, अन्नपातसहित तीनतोला सुन, नगद रु ४० हजार तथा नौवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आगलागीबाट मगरको रु २० लाख क्षति भएको पनि प्रहरीले बताएको छ ।
यस्तै, शनिबार नै सोही स्थानका हीराबहादुर मगरको घरमा आगलागी हुँदा घर तथा अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट मगरको रु आठ लाख बराबरको सम्पत्ति नष्ट भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताउनुभयो ।
स्थानीय जङ्गलमा डढेलो लागेका कारण जङ्गलबाट घरमा आगो सल्केको प्रहरीले बताएको छ ।
गाउँले र स्थानीय प्रहरी चौकीको सक्रियतामा आगो भने अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । रासस
–––––––
No comments:
Post a Comment