काठमाडौँ, ७ वैशाख । मन्त्रिपरिषद्को गत चैत २६ गतेको निर्णयअनुसार पदोन्नति भएका चारजना अतिरिक्त प्रहरी महानिरीक्षकलाई आज प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबरसिंह थापाले अतिरिक्त महानिरीक्षकको दज्यानी चिह्न लगाउनुभएको हो ।
तत्कालीन समयमा १३ जना प्रहरी नायब महानिरीक्षकमध्ये सातजना बढुवा हुनुपर्नेमा वरिष्ठतामा १३आँैं नम्बरमा रहेकालाई बढुवा गरिएपछि अन्य छजना प्रहरी नायब महानिरीक्षकले सर्वोच्चमा उजुरी दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७१ साल साउन ८ गते फैसला गर्दै पद भए सोही पदमा र नभए विशेष दरबन्दी सिर्जना गरी प्रहरी नायब महानिरीक्षकलाई बढुवा गरी पदस्थापन गर्ने फैसला गरको थियो । फैसला गरेको डेढ वर्षपछि गत चैत २६ गते मन्त्रिपरिषद् बैठकले चारजनालाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
वरिष्ठतामा ७, ८, ९, १०, १२ नम्बरमा रहेकालाई बढुवा नगरिए पनि उनीहरुभन्दा कनिष्ठ रहेका ११आँैं नम्बरमा रहेका रामशेखर बज्राचार्य र १३ नम्बरका केदार साउदलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । यसमध्ये नारायण बस्ताकोटी र गणेशराज राईलाई पछि बढुवा गरिए पनि अन्य चारजनाको भने बढुवा हुनसकेको थिएन ।
आज दज्यानी चिह्न प्रदान गर्दै कार्यक्रममा महानिरीक्षक अर्यालले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै सङ्गठनको गरिमा उच्च राख्न रचनात्मक काम गर्न आग्रह गर्नुभयो ।
बढुवा हुनुभएका अतिरिक्त महानिरीक्षक यादव अधिकारीले कानुनी मुद्दा कानुनी रुपमा समाधान भएको चर्चा गर्दै राष्ट्र, सङ्गठन र नागरिकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment