तुलसीपुर (दाङ), २६ चैत । घोराही निवासी ३८ वर्षीय विष्णु महरालाई बीभत्स ढङ्गले हत्या गरेको दाङ प्रहरीको अनुसन्धानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले महराको हत्या गाडीले किचेर बीभत्स ढङ्गले गरेको विहिबार पत्रकारसम्मेलन गरेर जानकारी दिनुभयो ।
महराको हत्या लेनदेनको विषयलाई लिएर सौँडियार–३ निवासी २९ वर्षीय मिहाल भनिने खिमबहादुर डाँगीले गाडीको प्रयोग गरेर गरेको शर्माले प्रहरी अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । डाँगी मालिका कालिका प्रालि घोराही बुकिङ काउन्टरका इन्चार्ज पनि हुन् ।
प्रहरी नायब उपरीक्षक शर्माका अनुसार महराबाट डाँगीले व्यक्तिगत रुपमा १५ लाख रुपैयाँ सापटी लगेका थिए । उक्त रकम फिर्ता गर्नुपर्ने भएपछि डाँगीले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको शर्माले बताउनुभयो ।
महराको हत्या गर्नका लागि आरोपित डाँगीले घोराही–११ निवासी पदम शर्माको वा ९ च २९३ नंको टोयोटा हाइलक्स गाडी एक घन्टाका लागि काम छ भन्दै गत चैत १५ गते बेलुका ८ बजे लगेको र सोही गाडी प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
महराको हत्या लागुऔषध खुवाएर लठ्ठ पारेर वा रक्सीसेवन गराएर हो त्यसको रगत रिपोर्ट भने आउन बाँकी रहेको शर्माले बताउनुभयो । रोल्पा जेदवाङ–३ स्थायी घर भई हाल घोराहीमा आफन्तको घरमा बस्दै आएका महरा गत चैत १६ गते घोराही–४ को चौघेराको डवरीमा गाडीले किचेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । हत्याको आरोप लागेका डाँगीलाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको शर्माले जानकारी दिनुभयो । रासस
–––––
No comments:
Post a Comment