काठमाडौँ, २१ चैत । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत वसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’ द्वारा विभूषित हुनुभएको छ ।
आज साँझ यहाँ आयोजित एक विशेष समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले श्री चौधरीलाई उक्त विभूषणबाट विभूषित भएको प्रमाणपत्र प्रदान गर्नुभयो भने नेपालका लागि मोरोक्कोका राजदूत लार्वी रिफोकोले उक्त विभूषण प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले नेपाल र मोरोक्कोबीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता बढाउन महावाणिज्यदूत चौधरीले गरेको योगदानको सराहना गर्नुभयो ।
उहाँले नेपाल र मोरोक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सद्भाव, समझदारी र सहयोग विस्तार हुँदै आएको तथा दुवै मुलुकले असंलग्न आन्दोलनजस्ता अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विषयमा सहकार्य गर्दै आएका बताउनुभयो ।
उहाँले भूकम्पका बेला आपत्कालीन सहयोगस्वरुप नेपाल सरकारलाई मोरोक्कोले एक लाख अमेरिकी डलर उपलब्ध गराएकामा मोरोक्को सरकार र महावाणिज्यदूत चौधरीप्रति आभार व्यक्त गर्नुभयो ।
राजदूत लार्वीले मोरोक्को र नेपालबीचको सम्बन्धलाई जनस्तरमा समेत सुदृढ तुल्याउन महावाणिज्यदूत चौधरीले गर्नुभएको अतुलनीय योगदानको कदरस्वरुप मोरोक्कोका नरेश मोहम्मद छैटौँले उक्त विभूषण प्रदान गर्नुभएको बताउनुभयो ।
महावाणिज्यदूत चौधरीले नेपाल र मोरोक्कोबीचको व्यापारिक एवम् औद्योगिक सम्बन्ध विस्तारमा आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
समारोहमा नेपाल सरकारका उच्च अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, समाजसेवी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । रासस
No comments:
Post a Comment