गोलबजार ९सिरहा०, २१ चैत । अरुको घरमा हतियार राखेर निर्दोषलाई फसाउने चार जनालाई प्रहरीले शनिवार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा धनगढीमाई नगरपालिका–१३ घर भई हाल लहान नपा–५ बस्ने ३७ वर्षीय रामपृत राम, २२ वर्षीय हरेराम यादव र राजवीर यादव छन् । तीनैजना मिली अरुलाई हातहतियार तथा खरखाजाना मुद्दामा फसाउन खोज्दा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई लहान प्रहरीको हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दामा कारबाही चलाउन प्रक्रिया थालिएको उहाँले बताउनुभयो ।
पक्राउ परेका रामपृत राम एकीकृत माओवादीका जिल्ला सदस्य हुन् । उनले आफ्नो रिसइबी साध्नलाई स्थानीय हरेराम यादवलाई आर्थिक प्रलोभन देखाई धनगढीमाई नपा–१३ बस्ने रामउद्गार यादव ९बन्ठा०लाई फसाउने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।
सोही योजनाअनुसार रामपृत रामले उपलब्ध गराइदिएको एक थान कटुवा पेस्तोल र एक थान गोली हरेराम यादवले रामउद्गार यादवको घरमा राख्ने सर्तमा सो हतियार र गोली स्थानीय तेजीनारायण यादवलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सोही सर्तअनुसार तेजीनारायण यादवले स्थानीय राजवीर राम र धुर्मुस नामले चिनिने रामेश्वर महतोलाई साथमा लिई रामउद्गार महतोको भान्साघरको पालीमा हतियार लुकाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार रामउद्गार महतोको घरमा हतियार लुकाएर राखिसकेपछि उनीहरुमध्ये एक जनाले प्रहरीलाई फोन गरी रामउद्गारको छोरा जीतेन्द्रकुमार महतोले हतियार राखेको सूचना दिएको थियो ।
सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएपछि रामउद्गारको छोरा जीतेन्द्रलाई चैत १४ गते पक्राउ गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार आफूसँग भएको हतियार अरुको घरमा राखेर निर्दोष व्यक्तिलाई फसाएको आरोपमा एकीकृत माओवादीका जिल्ला सदस्य रामपृत रामसहित तीनै जनालाई पक्राउ गरिएको हो ।
निर्दोष व्यक्तिको घरमा आफ्नो हतियार राखी फसाउने तीनैजना माथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment