काठमाडौँ, १७ वैशाख । मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवको उपलक्षमा दि जापानिज अल्पाइन क्लबले आज यहाँ एक स्वागत समारोहको आयोजना ग¥यो ।
कार्यक्रममा हीरक महोत्सवमा भाग लिन आउनुभएका मनास्लु हिमालका प्रथम आरोही मिनोरु हिगेटालगायत ८० जना जापानिज आरोही तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारी एवम् आरोहीको सहभागिता रहेको थियो ।
मनास्लु हिमालको सन् १९५६ मे ७ का दिन जापानी नागरिक तोसिओ इमानिसी र नेपाली नागरिक ग्याल्जेन शेर्पाको टोलीले पहिलो पटक आरोहण गरेको थियो ।
त्यस्तै, ल्होत्से हिमालको प्रथम आरोहण सन् १९५६ मे १५ का दिन अन्र्स रिज र फ्रित्ज लुचसिंगर सम्मिलित फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।
महोत्सवमा भाग लिन सफल मनास्लु आरोहणका अभियन्ता सदस्य मिनोरु हिगेटा एकमात्र जीवित हुनुहन्छ । उहाँका साथमा क्लब अध्यक्षसहितको आरोही प्रतिनिधि नेपाल आएका हुन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनका सार्थ दुई देशबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउन महोत्सव उपयोगी हुने बताउनुभयो ।
उहाँले जापान सरकारले विगतदेखि पूर्वाधार, पर्यटन, शिक्षालगायतको क्षेत्रमा गर्दै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो ।
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालका आकर्षण र गौरवका रूपमा रहेका हिमालमध्ये मनास्लु र ल्होत्सेको हीरक महोत्सवले पर्वतीय पर्यटन प्रवद्र्धनसँगै दुई देशबीचको लामो सम्बन्धलाई अझ बलियो पार्न सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।
नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले महोत्सवले नेपालको पर्यटनबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
प्रथम आरोही मिनोरु हिगेटाले ६० वर्षअघि मनमोहक हिमालको सफल आरोहणको अनुभव सुनाउँदै महोत्सवमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्नुभयो ।
नेपालका लागि जापानिज राजदूत मासासी ओगावाले प्रथम आरोहण र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको सन्दर्भमा महोत्सव आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन फलदायी हुने बताउनुभयो ।
अल्पाएन क्लबका अध्यक्ष मसासी कोब्यासीले मनास्लु आरोहणको ६० वर्ष र जापान र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ६० वर्ष पूरा भएको सन्दर्भमा महोत्सव आपसी सम्बन्धलाई दरिलो बनाउन सहयोगसिद्ध हुने बताउनुभयो ।
मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेको उपलक्ष्यमा ३० अप्रिल अर्थात् भोलि शनिबार काठमाडौँमा विभिन्न कार्यक्रम गरिँदैछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस
No comments:
Post a Comment