काठमाडौँ, ८ वैशाख । भूकम्प र नाकाबन्दीपछि तङ्ग्रिँदै गरेको मुुलुकको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायबीच साझेदारीका साथ प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो सरोकारवालाले औँल्याएका छन् ।
राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)ले आज यहाँ आयोजना गरेको पर्यटनका लागि आगामी कार्ययोजनाबारे साक्षात्कारका वक्ताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाहका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रयोग गरिनुपर्ने धारणा राख्नु भयो ।
साथै, उहाँहरुले सरकारी निकाय र निजी क्षेत्रका संस्थाबीचको समन्वय र प्रभावकारी साझेदारीको अभावले पर्यटकको सङ्ख्या वृद्धि र उनीहरुको बसाइँ लम्ब्याउन नसकिएको भन्दै पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन तथा पर्यटकीय उत्पादनलाई विशेष जोड दिइनुपर्ने विचार व्यक्त गर्नु भयो ।
पर्यटन विभागका महानिर्देशक सुर्दशनप्रसाद ढकालले सन् २०१७ भित्रमा नेपालको पर्यटन बजारलाई पूर्णरुपमा पूर्ववत् अवस्थामा फर्काउने गरी रणनीतिक योजना बनाएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली पर्यटनलाई विश्वव्यापीकरण गर्ने उद्देश्यकासाथ नेपाल सरकारले १० वर्षे रणनीतिक योजना ल्याएको र त्यसको कार्यान्वयनका लागि प्रारम्भिक बजेट विनियोजन गरिएको बताउनुभयो ।
नेकपा (एमाले) पर्यटन विभागका प्रमुख सूर्य थापाले पर्यटन बजारलाई पहिलाकै अवस्थामा फर्काउन र बढी पर्यटक भित्र्याउन सरकारी निकाय र निजी क्षेत्रका व्यवसायी संस्थाबीच समन्वय र साझेदारी जरुरी भएको बताउनुभयो ।
गलत प्रचारप्रसार तथा अनुत्तरदायी प्रवृत्तिले पर्यटन क्षेत्रले घाटा बेहोरेको भन्दै उहाँले प्रवद्र्धनका कामलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।
नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीले सरकारी निकाय र निजी क्षेत्रको समन्वयको कमिका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको बताउनुभयो । पर्यटन व्यवसायी मोहन लम्सालले तातोपानी नाका खुलाउन नसक्नु पर्यटनका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले २०७२ मा पदमार्गी पर्यटक सात प्रतिशतमात्रै घटेको तथ्याङ्क प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई विशेष जोड दिइनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले आगामी अप्रिल ३० मा मनास्लु र ल्होत्से आरोहणको हीरकजयन्ती मनाउने क्रममा अन्तर्राष्ट्रिय आरोही तथा मिडियाको उल्लेख्य सहभागिता गराइने बताउनुभयो ।
त्यस्तै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, टुरिस्ट गाइड एसोसिएसनका महासचिव हेमविक्रम शाही, गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङलगायतले पर्यटक आकर्षणका लागि पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धनका कार्यक्रम तत्काल अघि बढाइनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment