पोखरा, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी आपूmले काम गर्ने बताउनुभएको छ ।
कास्कीको पुरुन्चौरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत बन्न लागेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज भवनको शिलान्यास तथा विएस्सीएजी कक्षाको आज शुभारम्भ गर्दै उहाँले अब नेपाली जनतालाई खान नपाएर भोकै बस्नु पर्ने स्थितिको अन्त्य हुने गरी काम गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
आगामी आवको सरकारको नीति तथा कार्यक्रम र बजेट नयाँ नेपालको नक्सा कोर्न कोसेढुङ्गा साबित हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सिँचाइ, ऊर्जा, पुलपुलेसा र कृषिको आधुनिकीकरण गर्न विकास आयोजनाका लागि बजेटमा प्राथमिकता दिइनेछ ।
सरकारलाई आफ्नो कुरो सुनाउन अब कसैले पनि जुलुस, हडताल, तालाबन्दी गर्नुपर्दैन भन्दै उहाँले सबै जनताको कुरा सरकारले सुन्छ, केही समस्या परेका छन् भने तत्काल समाधान गर्न तदारुकता देखाइन्छ भन्नुभयो । देश र जनताका लागि केही गरुँ भनेर आफू प्रधानमन्त्रीको कुर्सीमा बसेको धारणा राख्दै उहाँले राम्रो काम गर्दागर्दै पनि कसैले विरोध गर्दछ भने पनि आपूm कत्ति पनि विचलित नहुने बताउनुभयो ।
उहाँले प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाले भरिपूर्ण सुन्दर देश नेपाललाई विश्वमै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सबैको खाँचो औँल्याउनुभयो । उहाँले जनताको चाहनाअनुरुप अग्रगामी परिवर्तन, गरिबी घटाउन र विकासको लहर अगाडि बढाउने दृढतासमेत व्यक्त गर्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष दीपक पौडेलले कलेजको गतिविधि माथि प्रकाश पार्नुभएको थियो । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायिकीकरण गरी राष्ट्रको सर्वाङ्गिण विकास गर्ने उद्देश्यले भौगोलिक तथा क्षेत्रीयस्तरमा आङ्गिक कलेज खोज्दै जाने लक्ष लिएअनुरुप पुरुन्चौरवासीको विशेष पहलमा विश्वविद्यालयले पहिलो आङ्गिक कलेजका रुपमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजको रुपमा स्थापना गरिएको हो ।
पुरुन्चौरवासीले यस कलेजका लागि करिब ५० रोपनी जग्गा हस्तान्तरण गरिसकेका छन् र भवन निर्माणको लागि अर्थ मन्त्रालयले आव २०७२÷७३ को बजेटबाट रु पाँच करोड विनियोजन गरेको छ । २०६९ साल मङ्सिरमा पुरुन्चौरवासीले कृषि कलेज खोल्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु चार करोड ३० लाख सङ्कलन भएको र सङ्कलित भएको रकम कलेज सञ्चालन गर्न खर्च भएको उपाध्यक्ष दीपक पौडेलले बताउनुभयो । रासस
No comments:
Post a Comment