काठमाडौँ, ८ वैशाख । राष्ट्रिय पुनःनिर्माणको काममा बालमजदुररहित इँटाको प्रयोगलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे साझेदार निकायसँग परामर्श गरिएको छ ।
पुनःनिर्माणको साझेदारी संस्था ग्लोबल फेयरनेसले आज यहाँ आयोजना गरेको कार्यशालामा नेपाल सरकार र अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिको सहभागिता थियो ।
भूकम्पपछिको पुनःनिर्माणमा निर्माण सामग्रीमध्ये इँटाको महत्वपूर्ण प्रयोग हुने र त्यसमा बालमजदुररहित इँटाको प्रयोगलाई व्यावहारिक कार्यान्वयन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागीले पुनःनिर्माणमा सामाजिक उत्तरदायित्वअन्तर्गत बालश्रम न्यूनीकरणका लागि परियोजना सान्दर्भिक हुने धारणा राखेका थिए ।
ग्लोबल फेयरनेसले भूकम्पपछिको पुनःनिर्माणलाई लक्षित गरी बेटर ब्रिक नेपाल–बिबिएन) परियोजना सञ्चालन गरिरहेको छ । सन् २०१३ बाट सुरु भएको उक्त परियोजनाले भक्तपुर, काभ्रेपलान्चोक, धादिङ चितवन गोरखालगायतका १२ जिल्लाका २३ वटा इँटा उद्योगमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
ग्लोबल फेयरनेसका राष्ट्रिय निर्देशक होमराज आचार्यले बेटर ब्रिकेट नामक परियोजनाको सारसङ्क्षेप प्रस्तुत गर्दै बालश्रम न्यूनीकरण र वातावरणमैत्री प्रविधिको प्रयोग गरी निर्माण सामग्री प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँका अनुसार संस्थाले पाँच मापदण्ड बालश्रम मान्य छैन, जबर्जस्त बधुवा मान्य छैन, पारिश्रमिक तथा कार्यघन्टा र समग्र कार्यस्थल सुरक्षा तथा स्वास्थ्य अमानवीय व्यवहार मान्य छैन भन्ने पाँच मापदण्डमा आधारित परियोजना हो । बालमजदुर नरहेका र वातावरणीय मापदण्ड पूरा गरेका इँटा उद्योगलाई मात्र यस्तो सहयोग प्रदान गरिने संस्थाका शिक्षा तथा स्वास्थ्य व्यवस्थापक शङ्कर बिमलीले बताउनुभयो ।
परियोजना सञ्चालनका लागि राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा सरोकारवाला ११ मन्त्रालयका सहसचिव रहेको परियोजना सञ्चालन निर्देशक समिति गठन गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विज्ञ सदस्य हरिराम पराजुलीले पुनःनिर्माणका लागि बिबिएन कार्यक्रम सान्दर्भिक र उपयोगी हुने बताउनुभयो ।
उहाँले वातावरणीय र आर्थिक हिसाबले पनि उपयोगी रहेकाले यसको व्यावहारिक कार्यान्वयनका लागि इँटा उद्योगी र निर्माण व्यवसायीसँग साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञ सदस्य विष्णुबहादुर भण्डारीले विगतमा कमजोर संरचनाले पु¥याएको मानवीय क्षतिलाई मध्यनजर गर्दै आगामी निर्माणका काममा बिबिएन कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
इँटा व्यवसायी पुष्पराज खनालले आफूहरुले लाखौँलाई रोजगारी दिएको तर अझै पनि लगानीको वातावरण नरहेको गुनासो गर्नुभयो । रासस
No comments:
Post a Comment