बुटवल, २८ चैत । संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाडले व्यवस्थापिका–संसद्को नियमावली बनाउन ढिलाइ हुनुजस्ता कारणले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँ उभिनाको विकल्प नभएको बताउँदै सरकार निर्माणका क्रममा सत्ता र प्रतिपक्ष भए पनि संविधान कार्यान्यनमा त्यस्तो हुन दिन नहुने भनी दलहरुले प्रतिबद्धता जाहेर गरिसकेको स्मरण गराउनुभयो ।
पूर्वसभामुखले भन्नुभयो, “ संविधानमा कहीँ कतै अपुग भए संशोधनमार्फत थपघट गर्न सकिन्छ ।” भारतको संविधान ६२ र अमेरिकाको ५२ प्रतिशत सहमतिमा आएको उदाहरण दिँदै उहाँले ९० प्रतिशत सहमतिबाट आएको नेपालको संविधानलाई अपुग भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधान नेपालीले संशोधन गर्न सक्छन् ।”
एमाले संसदीय दलका उपनेता नेम्वाडले वर्तमान सरकार नाकाबन्दीबीच जन्मिएको र यसले असहजतालाई हटाउने महत्वपूर्ण काम गरेको बताउनुभयो । “असहज परिस्थितिका बीच बनेको सरकारले त्यो स्थिति हटाएर सहज गर्ने काम गरेको छ”, उहाँले भन्नुभयो । भारत र चीन भ्रमणमा महत्वपूर्ण सहमति भएका र त्यो कार्यान्वयनको चरणमा पुगेको उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment