चितवन, १८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भूकम्प प्रभावितलाई सरकारले समयमा व्यवस्थापन गर्न नसकेको भन्दै कडा आलोचना गर्नुभएको छ । उहाँले यस्तै अवस्था जारी रहे देश हैंटीको बाटोमा जाने चेतावनी दिनुभयो ।
नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भूकम्प गएको एक वर्ष बित्दा प्रभावित क्षेत्रमा दुई प्रतिशतभन्दा बढी काम हुन नसकेको बताउनुभयो ।
नेपालको विकासका लागि नयाँ ढङ्गले काम गर्नुपर्ने समय आएको भन्दै उहाँले अब सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताउनुभयो ।
आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि ठूलो पार्टीको हैसियतले प्राकृतिक न्यायको सिद्धान्तमा पनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने जिकिर उहाँको थियो ।
चितवन जिल्लाबाट काँग्रेसको केन्द्रमा प्रतिनिधित्व हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यसलाई सम्बोधन गर्दै सके दुई नसके एकजना चितवनबाट केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य धनराज गुरुङले सस्तो लोकप्रियताका लागिमात्र अहिलेको सरकारले काम गरेको भन्दै उहाँले कालोबजारी रोक्न नसक्नु र भूकम्प प्रभावितलाई राहत दिलाउन नसक्नु सरकारका कमजोरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङ, तोपमानसिंह गुरुङ, सांसद सावित्री चौधरी, क्षेत्रीय सभापति सरिता केसी, दलित सङ्घ चितवनकी सभापति शान्ती परियार, काँग्रेस चितवनका उपसभापति कैलाश कोइरालालगायतले बोल्नुभएको थियो ।
दोस्रो सत्रमा काँग्रेसका केन्द्रीय सदस्य गुरुङले काँग्रेसको १३औँ महाधिवेशन र भावी कार्यदिशा एवम् राष्ट्रिय जेसिसका पूर्वअध्यक्ष महेश दाहालले राजनीतिक नेतृत्व र व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा जिल्ला समिति, गाउँ, नगर र क्षेत्रका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । रासस
No comments:
Post a Comment