काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्य मनशान्तिको विषय हुन नसक्ने भन्दै विचारबाट निर्देशित सिर्जनाले मात्र समाजमा सन्देश दिन सक्ने बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घको दसौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘नेपालका जुनसुकै राजनीतिक परिवर्तनका लागि साहित्यको महत्वपूर्ण योगदान रहेको छ । साहित्यले समाजलाई सङ्गठित गर्न पनि महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएको छ । लेखक सङ्घले त्यो भूमिका अझ बढाओस् ।”
चिन्तनबिनाको साहित्यले कुनै सन्देश प्रवाह नगर्ने जनाउँदै उहाँले भन्नुभयो, “चिन्तन र साधनाबिनाको साहित्यले सन्देश प्रवाह गर्न सक्दैन, हाम्रा पुर्खाहरुले कठोर साधना गरेर महाभारत रचना गरे । हामीलाई साधना गर्ने बानी हटेर हाइकुमा आइपुग्यौं । यसको आशय हाइकुलाई अपमान होइन तर साधना र अनुसन्धान पनि हुन आवश्यक छ ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानमा दुई दिनसम्म चल्ने सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सङ्घका अध्यक्ष डा अमर गिरीका अनुसार सम्मेलनमा देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी छन् ।
विसं २००९ सालमा स्थापना भएको सो संस्था सबै वामपन्थी लेखकको एक मात्र साझा संस्था हो । श्यामप्रसाद शर्माको अध्यक्षतामा सो संस्था गठन भएको थियो ।
सम्मेलनमा साहित्यकार खगेन्द्र सङ्ग्रौला, विमल निभा, कृष्णदास श्रेष्ठ, राम विनय, कविता पौडेल, वेणु आचार्य र झपेन्द्र वैद्यलाई सम्मानित गरियो । रासस
No comments:
Post a Comment