काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि तथा वागवानीको व्यावसायिक विकामा जोड दिनुभएको छ ।
नेपाल सरकार, नेपाल वागवानी समाज र कृषि तथा वन विश्वविद्यालयले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको चारदिने प्रथम अन्तर्राष्ट्रिय वागवानी सम्मेलनको उद्घाटन गर्दै उहाँले सरकारको अहिलेको प्राथमिकता देशको आर्थिक विकास भएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेकाले नयाँ विचार, सोच र आधुनिक प्रविधिको प्रयोग गर्दै कृषि र वागवानी क्षेत्रको व्यावसायिककीकरण र आधुनिकीकरण गर्नै पर्छ ।”
सरकारले नयाँ कृषि रणनीति अवलम्बन गरेको स्पष्ट गर्दै उहाँले त्यसमा वागवानीसहित कृषि क्षेत्रको समग्र विकासमा ध्यान दिइएकाले तदअनुरुप काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
देशको आर्थिक विकासका निम्ति राज्यले गरेको परिकल्पनालाई साकार तुल्याउन वागवानी क्षेत्र महत्वपूर्ण हुने चर्चा गर्दै प्रधानमन्त्री ओलीले त्यसको विकासका निम्ति सरकारले सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । कृषि तथा वागवानीको क्षेत्रमा मुलुक आत्मनिर्भर बन्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।
वागवानी समाजलाई देशको फलफूल तथा सागसब्जीको विकासका निम्ति सहयोग गर्न सरकार सधैँ तत्पर छ, भन्दै उहाँले समाजका अनुभवी, मेहनती र कर्मठ बालीविज्ञलाई समाज र राष्ट्रको उन्नतिलाई केन्द्रमा राखेर काम गर्न आग्रह पनि गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्रीले समाजको प्रकाशन ‘नेपालमा वागवानी विकासका छ दशक’ को पनि विमोचन गर्नुभयो ।
समाजका अध्यक्ष मोहनबहादुर थापाको सभापतित्वमा भएको उक्त सम्मेलन उद्घाटन सत्रमा समाजका सदस्य डा उमेश पुनले सम्मेलनको महत्वबारे जानकारी गराउनुभएको थियो । रासस
No comments:
Post a Comment