Sunday, April 10, 2016

सुधारिएको पानीघट्टप्रति आकर्षण बढ्दो

कालीकोट, २९ चैत । पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागत घट्टभन्दा पनि सुधारिएको घट्ट प्रति आकर्षण बढ्न थालेको छ ।

परम्परागत रुपमा सञ्चालनमा आएका पानीघट्टमा ढिलासुस्ती र प्रभावकारी हुन नसकेपछि सुधारिएका पानीघट्ट सञ्चालनमा आएका छन् । ग्रामीण क्षेत्रमा पानीघट्ट सहुलियत दिँदै आएपछि निर्माण हुन थालेका छन् । बदालकोट गाविसका धन सार्कीले परम्परागत रुपमा सञ्चालनमा आएका पानीघट्टभन्दा सुधारिएका पानीघट्टमा सहजता हुने बताउनु भयो । उहाँका अनुसार सुधारिएको पानीघट्टमा थोरै पानीमा पनि सञ्चालन गर्न सकिने, समयको बचत हुने, टाढा जानु पर्ने बाध्यताबाट मुक्ति, वन संरक्षणमा टेवा मिल्ने भएकाले स्थानीयको आकर्षण बढेको हो ।

सामान खरिदमा अनुदानको समेत व्यवस्था भएकाले सहजता भएको छ । जिल्लामा दुई हजार ५०० परम्परागत पानीघट्टमध्ये वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा ४६९ वटा सुधारिएको पानीघट्ट निर्माण भएका छन् भने मानवअधिकार तथा वातावरण संरक्षण केन्द्र (हुरेण्डेक) नेपालको समन्वयमा विभिन्न निकायको सहयोगमा ३०९ वटा गरी जम्मा ७७८ वटा सुधारिएको पानीघट्ट निर्माण भएको मानवअधिकार तथा वातावरण संरक्षण केन्द्र (हुरेण्डेक) नेपालका नवीकरणीय ऊर्जाका प्रबन्धक नन्दकृष्ण अधिकारीले बताउनुभयो ।
जिल्लामा पछिल्लो समयमा सुधारिएको पानीघट्ट निर्माणमा जोड दिन थालेपछि माग गरेअनुसार सुधारिएको पानीघट्ट निर्माणको क्रममा रहेको बताइएकोे छ । जिल्लामा सुधारिएको पानीघट्टलाई व्यापक विस्तारमा जोड दिँदै कालीकोटलाई आगामी तीन वर्षभित्र परम्परागत पानीघट्ट मुक्त जिल्ला बनाउने योजना रहेको नवीकरणीय ऊर्जा कालीकोटले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts