भक्तपुर, २९ चैत । बिस्केट जात्रा भन्ने बित्तिकै हरेकको मानसपटलमा भक्तपुरको भैरवनाथको रथ तान्ने र लिङ्गो उभ्याउने दृश्य मडारिन्छ । बिस्केट जात्राकै अभिन्न अङ्ग मध्यपुर थिमि क्षेत्रमा मनाइने सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा पनि हो भन्ने धेरैलाई हेक्का रहँदैन ।
मध्यपुर थिमि क्षेत्रमा विशेष गरी वैशाख १ र २ गते जात्रा हुने गर्छ । यी जात्रा स्थानीय नेवारी भाषामा चान्हसिया जात्रा(रातको जात्रा), बाँय्लिसिया (बेलुकीको जात्रा) र सुथसिया (बिहानको) जात्राको रुपमा परिचित छन् । थिमिको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई स्विनिखः (बत्तीस) खटको जात्रा पनि भन्ने गरिन्छ ।
स्थानीय बालकुमारी मन्दिर प्राङ्गणबाट वैशाख २ गते बिहान करिव ८ बजेतिर सुरु हुने जात्रा बत्तीस खटको जात्रा हो । थिमिको बिस्केट जात्राको मुख्य आकर्षण पनि यही हो । यसलाई सुथसिया जात्रा पनि भनिन्छ । कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बत्तीस खटको जात्रा भनिए पनि अहिले विभिन्न कारण यस जात्रामा २३ खटको मात्र सहभागिता हुने गरेको स्थानीय संस्कृतिकर्मी राजेन्द्र श्रेष्ठले बताउनुभयो । यस जात्रामा मध्यपुर थिमि क्षेत्रका सिद्धिकाली गण, विष्णुवीर गण, दक्षिण बाराही गण लगायतका देवी देवताहरुको खट सहभागी हुने गर्दछ ।
यो जात्रा प्रारम्भ गर्न सबै देवी देवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नु पर्दछ । नगदेशको सिद्धि गणेश ल्याइसकिएपछि एक आपसमा सगुन साटासाट गरेर जात्रा प्रारम्भ गर्ने परम्परा रहेपनि केही वर्ष अघि भएको एक घटनाका कारण नगदेशको सिद्धि गणेश थिमि रोकिएपछि उनको सहभागिता विना नै जात्रा सञ्चालन हुँदै आएको छ ।
बालकुमारीबाट जात्रा प्रारम्भ भएपछि लस्करै खटहरु चपाचोतर्फ लाग्दछन् । त्यसपछि सिद्धिकाली गणका देवी देवताहरु चपाचो क्षेत्रको परिक्रमा गर्न जान्छन् भने बालकुमारी र विष्णुवीर गणका देवताहरु दिगुटोलबाट फर्केर निगुपुखु, इनायलाछि, दथुटोल र मरुटोलको परिक्रमा पछि लाय्कुमा खट बिसाएर जात्राको समापन गरिन्छ ।
दक्षिण बाराही जात्रा
यो जात्रा दधिकोट क्वाछेंस्थित दक्षिण बाराहीको नेतृत्वमा वैशाख १ गते राति सञ्चालन हुने गर्दछ । रातको समयमा हुने भएकाले स्थानीय भाषामा यसलाई चान्हसिया जात्रा पनि भनिन्छ । यस जात्रामा दक्षिण बाराहीका साथमा दधिकोट हिंचोकस्थित हरिसिद्धि र थिमिको यमलाटोलको अजिमा सहित ३ खटको सहभागिता रहन्छ । स्थानीय गुथियारको घरबाट सुरु हुने यो जात्राले दिगुटोल, लाय्कु इनायलाछि, मरुटोल, बालकुमारी चोक, शङ्खधर चोक, क्वाछें लगायतको स्थानको परिक्रमा गर्दछ ।
सिद्धिकाली गण जात्रा
यो जात्रा स्थानीय इनायक्व टोलबाट सिद्धिकालीको नेतृत्वमा वैशाख १ गते साँझ ६ बजेतिर सुरु हुन्छ । त्यसैले यसलाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । विष्णुवीर जात्रा प्रारम्भ भएलगत्तै स्थानीय राज गणेशको खट सिद्धिकाली आउँछ र यो जात्रा प्रारम्भ हुन्छ । यस जात्रामा सिद्धिकालीको नेतृत्वमा चोदे गणेश, चपाचो गणेश, क्वसी नाः गणेश, दिगु गणेश, गाँचा गणेश र सिवाः गणेशको सहभागिता रहन्छ । स्थानीय इनायक्वबाट सुरु हुने यस जात्राले हात्ती महांकाल, कुमाःननि, नासःननि, चपाचो, गार्चा, वाःननि, भुँलाखेललगायतका टोलको परिक्रमा गर्दछ ।
विष्णुवीर गण जात्रा
वैशाख १ गते साँझ स्थानीय विष्णुवीर देवताको नेतृत्वमा सुँगाटोलबाट सुरु हुने यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेश गरी ६ वटा खटको सहभागिता गराइन्छ । यो जात्रा प्रारम्भ गर्न स्थानीय इनायलाछि टोलको राज गणेशको उपस्थिति अनिवार्य मानिन्छ । राज गणेशको उपस्थिति भएपछि जात्रा प्रारम्भ गरी कयकुतांः, पाँगु, इनायलाछि, निगुपुखु, दिगुटोल, भुलाखेल, वाःननि, पोबू, चोदे, दथुटो, वामुने, तछुटोल, सुंगाः टोल, मरुटोललगायतका स्थानको परिक्रमा गराइन्छ ।
यो जात्रामा अनौठो खालको प्रचलन पनि रहेको छ । जात्राका क्रममा विष्णुवीरको खट सुंगा टोलबाट कय्कुतां पुग्दा धिमेबाजा बजाउन नहुने प्रचलन रहेको छ । यस बेला नेवारी समुदायमा शवयात्रा गर्दा बजाइने ‘सि बाजा’ बजाउनुपर्ने र जात्रामा सहभागी सबैले मलामीको रुपमा टोपी फुकाल्नु पर्ने प्रचलन छ ।
सिद्धि गणेश जात्रा
थिमि क्षेत्रको जात्रामघ्ये नगदेशको सिद्धि गणेश जात्रा अर्को रमाइलो जात्रा हो । थिमिका अन्य भेगमा टोलटोलका देवी देवताहरुको खट बनाई जात्रा हुने गरेता पनि नगदेशमा भने एउटै सिद्धि गणेशको मात्र खट जात्रा गरिन्छ । यो जात्रामा नगदेशका हजारौं जनताको सहभागिता हुने भएकाले जात्राको रौनक नै बेग्लै हुने गर्दछ । विगतमा वैशाख २ गते बिहान यो खट बालकुमारी आउने परम्परा रहेको थियो । त्यतिखेर नगदेशको ठूलो लावा लस्करसहितको नगदेशको टोलीको थिमिमा व्यग्र प्रतिक्षा हुने गर्दथ्यो । सिद्धि गणेशको जात्रा वैशाख १ र २ गते दुई दिन सञ्चालन हुने गर्दछ । वैशाख १ गते राति करिव ९ बजे सुरु हुने यस जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । स्थानीय लाय्कुका प्रतिनिधिले सिद्धि गणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फूल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ । यस दिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चा लगायतका ठाउँको परिक्रमा गराई पुखुसिमा पुगेर समापन गरिन्छ ।
वैशाख २ गते बिहान सिद्धि गणेशलाई बालकुमारी ल्याउने प्रचलन रोकिएपछि यो दिन बिहान ८ बजेतिर जात्रा प्रारम्भ गरी अघिल्लो दिनमा झैं नगदेशका विभिन्न भागको परिक्रमा गराई सिद्धि गणेशलाई बहाखामिल रोड हुँदै सानुच्व पु¥याइन्छ । त्यहाँ निलबाराहीसँग पूजा थाप्ने कार्य सम्पन्न गरी तिगनीको विभिन्न भागको परिक्रमापछि न्याःगाः टोलस्थित द्यः छेँ प्राङ्गणमा पु¥याएर जात्राको समापन गरिन्छ ।
No comments:
Post a Comment